इटहरी । इटहरी उपमहानगरपालिकाका पूर्व नगर प्रमुख द्वारिकलाल चौधरीले नगरपालिकामा चरम आर्थिक अनियमितता र कार्यशैलीमा लापरवाही भएको आरोप लगाएका छन्। बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले वर्तमान मेयर हेमकर्ण पौडेल नेतृत्वप्रति असन्तुष्टि जनाउँदै स्थानीय सरकार पार्टी कार्यकर्ता भर्ती केन्द्रमा रूपान्तरण भएको बताए।
चौधरीले जनसरोकारका योजनामा खासै प्रगति नभएको, बजेट ढिलाइले “बजेट होलिडे” सिर्जना भएको, र गौरवका आयोजनाहरू जस्तै जनता पार्क, बहुजातीय संग्रहालय, वडा १५ को मोटरेबल पुल लगायत दर्जनौं सडकहरू अलपत्र रहेको बताएका छन्।
उनले सरकारी इन्जिनियरिङ र मेडिकल कलेज स्थापनातर्फ ध्यान नदिएको र सार्वजनिक सुनुवाई समेत नगरिएकोप्रति गुनासो गरे। साथै, बाढी नियन्त्रणका लागि ४२ किमीको बाहिरी चक्रपथ योजना नीति कार्यक्रममा समेटिए पनि कार्यान्वयनमा नआएकोमा चिन्ता व्यक्त गरे।
डिभिएम स्कुलले अदालतको आदेश विपरीत कब्जा जमाएको जग्गाबारे पनि सरकार मौन रहेको भन्दै उनले आलोचना गरे। चौधरीले अपूरा र बजेट विनियोजित परियोजना तत्काल कार्यान्वयनमा ल्याई पारदर्शिता कायम गर्न वर्तमान नेतृत्वलाई आग्रह गरे।

























Discussion about this post