•  २० कार्तिक २०८१, मंगलवार
  •  5:37:40 AM

कोशी अस्पतालको अक्सिजन प्लान्ट अलपत्र

- श्रावण १६, २०८० मा प्रकाशित



विराटनगर । साधारण मर्मत गर्दा पूर्ण क्षमतामा सञ्चालन हुनसक्ने अक्सिजन प्लान्ट मर्मत नगरी कोशी अस्पताल विराटनगरले निजी कम्पनीसँग अक्सिजन खरिद गरेर ठूलो रकम खर्च गरिरहेको पाइएको छ ।कोशी अस्पतालसँग दैनिक ४ हजार ८०० किलो अक्सिजन उत्पादन गर्नसक्ने क्षमताको प्लान्ट भएपनि विगत केही महिनायता अस्पतालले निजी कम्पनीसँग दैनिक ५०० किलो अक्सिजन खरिद गर्दै आएको छ । 

अस्पतालले बिग्रिएको अक्सिजन प्लान्ट मर्मत नगरी विगत १३ महिनादेखि निजी कम्पनीसँग अक्सिजन खरिद गर्दा झण्डै ७० लाख रुपैयाँ भन्दा बढी खर्च गरिसकेको छ ।नेपाली चिकित्सकहरूको संस्था अमेरिका नेपाल मेडिकल फाउन्डेसनले २०७८ साल असोजमा १ करोड ७ लाख रुपैयाँ लागतमा अक्सिजन प्लान्ट निर्माण गरिदिएको थियो । कोभिड १९ को बेलामा बिरामीलाई अक्सिजन अभाव हुन नदिने उद्देश्यले कोशी अस्पताल परिसरभित्र फाउण्डेउसनले अक्सिजन प्लान्ट निर्माण गरी हस्तान्तरण गरहेको हो । त्यसबेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले उक्त प्लान्टको उद्घाटन गरेका थिए । त्यसपछि अक्सिजनमा आत्मनिर्भर भएको कोशी अस्पतालले गत वर्षको जेठ महिनासम्म प्लान्ट सञ्चालन गरेको थियो ।

कोशी अस्पतालको नयाँ भवन निर्माण गर्ने क्रममा अक्सिजन प्लान्टदेखि अस्पतालका वार्डहरुमा विस्तार गरिएको अक्सिजन पाइपलाइन र बिजुलीको वाइरिङ चुँडिन पुगेको थियो । तुरुन्त अक्सिजन आवश्यक पर्ने भएकोले २०७९ जेठ अन्तिममा निजी क्षेत्रबाट अक्सिजन खरिद गर्न थालेको अस्पतालले बढीमा एक लाख रुपैयाँभित्रैको खर्चमा चुडिँएको पाइपलाइन र बिजुलीको तार मर्मत गरेर प्लान्ट सञ्चालन गर्न सक्थ्यो । तर, अस्पतालले त्यस तर्फ ध्यान नदिएर निजी क्षेत्रसँग नियमित अक्सिजन खरिद गर्ने कार्यलाई नै प्राथमिकतामा राखेको देखिन्छ ।प्लान्टबाट दैनिक ४८ किलो क्षमताका १०० सय सिलिण्डर अक्सिजन उत्पादन गर्नसक्ने क्षमता भएपनि अस्पताललाई दैनिक १० देखि १२ सिलिण्डर अक्सिजन पर्याप्त हुने भएकोले सीमित उत्पादन गरिदै आएको थियो ।

तार ल्याएर जडान गरेपछि संचालनमा आउने प्लान्ट नबनाएर ठेक्का मार्फत निजी क्षेत्रबाट अक्सिजन खरिद गरेर अस्पताललाई लाखौं रुपैयाँ व्यभार थप्न अस्पताल प्रशासन लागिपरेको भन्दै कर्मचारीहरुले नै असन्तुष्टि जनाएका छन् ।अस्पताललाई आवश्यक पर्ने भन्दा बढी दैनिक १ सय सिलेन्डर कोशीमा उत्पादन हुने गरेको दुई वटा प्लान्ट छ । प्लान्ट बिग्रिएर थन्एिको एक वर्ष बितिसक्दा पनि प्रशासनले बनाउनुको साटो ठेक्का लगाएर प्रतिकेजी ३९ रुपैयाँले मासिक सरदर १५ हजार केजी अक्सिजन खरिद गर्दै आएको थियो । जसबापत ५ लाख ४८ हजार रुपैयाँ खर्च हुने गरेको छ ।

‘निमार्णको क्रममा अक्सिजनको तार काटिएर अहिले बिग्रीएको हो । पाइप बिछ्याएर तार जोडिए पहिला जस्तै गरी शैय्याहरुमा अक्सिजन सप्लाइ हुने थियो । तर, अस्पताल प्रशासनले मर्मतमा ध्यान नदिएर निजी क्षेत्रबाट अक्सिजन खरिदमा लागि परेको देखिन्छ,’ अस्पतालका एक जना कर्मचारीले भने ।
३५० शैय्याको कोशी अस्पतालमा दैनिक ४ देखि ५ सय केजी अक्सिजन खपत हुने गरेको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालले ३९ रुपैयाँ प्रतिकेजीको दरले शंकर अक्सिजन ग्यास काठमाण्डौंले ठेक्का पाएको छ । शंकर अक्सिजनले कोशी अस्पतालमा आवश्यक पर्ने लिक्युड ग्यास ल्याउने गरेको छ ।

कोशी अस्पतालका मेडिकल सुपरिटेन्टडेन्ट (मेसु) डा. चन्द्रभाल झाले नयाँ भवन निमार्णको क्रममा अक्सिजन प्लान्टको तार काटिएकाले बनाउन लागि परेको बताए । ‘अक्सिजन प्लान्टको तार काटिएपछि ग्यास सप्लाइमा समस्या आएको थियो,’ उनले भने, ‘निमार्ण भइरहेको छ । केही दिनभित्रमा अक्सिजन प्लान्टबाटै अक्सिजन उत्पादन भई सप्लाई हुनेछ ।’ प्लान्ट संचालनमा आएपछि बाहिरबाट अक्सिजन मगाउन बन्द हुने उनले बताए ।

अक्सिजन प्लान्टदेखि आएको अक्सिजन अस्पतालको आकस्मिक कक्षदेखि पूर्वपट्टि रहेको मेन लाइनमा आएर होल्ड हुने व्यवस्था मिलाएको थियो । त्यसपछि आकस्मिक, अर्थो, कोभिड वाड, आइसियू, मेडिकल र जेनेरल वडामा अक्सिजन जाने सिस्टमको विकास गरिएको छ ।

Comments

सम्बन्धित खवर