इटहरी । काठमाडौँमा गुण्डागर्दी गरेको आरोपमा पक्राउ परेका युवा संघका सचिवालय सदस्यसहित १६ जना धरौटीमा रिहा भएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँले गुण्डागर्दीको आरोपमा विशेष अप्रेसन नै चलाएको थियो। ती मध्ये १६ जनालाई अभद्र व्यवहारको कसुरमा जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर हिरासतमा राखिएको थियो। प्रशासनले नै उनीहरुलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो।
काठमाडौँ प्रहरीले थप व्यक्ति पक्राउ गर्दा ३३ जना दुई दिनमा समातिएका थिए। तर ती मध्ये युवासंघका सचिवालय सदस्य वकिल बमसहित १६ जना भने धरौटीमा रिहा भएको परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईले बताए।बमसहित १३ जनालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले चैत २० गते राति पक्राउ गरेर थप अनुसन्धानका लागि काठमाडौँ प्रहरी परिसरमा पठाएको थियो।
प्रवक्ता भट्टराईका अनुसार वकिल बम १० हजार धरौटीमा रिहा भएका हुन्। संजीव लामा ५० हजार र अशोक गिरीलाई ६० हजार धरौटीमा छाडिएको छ। अणबहादुर तामाङ, मिनबहादुर तामाङ, आशिष क्षेत्री, सानुबहादुर तामाङ, लक्षमण साउद, रवि थिङ, ज्ञानबहादुर तामाङ, अकलबहादुर मोक्तान, साङ्गे लामा र अकलबहादुर थोकर पनि १० हजारका दरले धरौटी बुझाएर रिहा भएका छन्। अरु १७ जनालाई भने प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।


























Discussion about this post