एजेन्सी । भारतको उत्तर प्रदेशस्थित अलीगढमा १० महिनाअघि छोरीसँग बिहे गर्न ठिक्क परेका हुनेवाला ज्वाइँसँग फरार भएर चर्चामा आएकी महिलालाई अहिले फेरि भिनाजुसँग भागेको आरोप लागेको छ। सन् २०२५ अप्रिलमा आफ्नी छोरीको विवाह हुनुभन्दा १२ दिनअगाडि भावी ज्वाइँ राहुलसँग भागेकी सपना देवी अहिले आफ्नी दिदीको श्रीमान्सँग गएको आरोप लागेको हो।
राहुलले २ लाख रुपैयाँ र गरगहना लिएर श्रीमती घरबाट गायब भएको भन्दै प्रहरी थानामा उजुरी दिएपछि यो घटना सार्वजनिक भएको हो। भारतीय सञ्चारमाध्यमका अनुसार राहुलले यही फेब्रुअरी ११ मा अलीगढको दादोन प्रहरी चौकी पुगेर बिहारबाट श्रीमती आफ्नो भिनाजुसँग भागेको उजुरी दिएका हुन्।
उनका अनुसार उनी बिहारको एउटा जिल्लामा श्रीमतीसहित लुगा बेच्ने काम गर्थे। तर यही फेब्रुअरी ६ देखि पत्नी भिनाजुसँग बेपत्ता भएको राहुलले उजुरीमा उल्लेख गरेका छन्। तर दादोन प्रहरी चौकीले यहो बिहारको विषय भन्दै राहुलको गुनासो वास्ता नगरेको बताइएको छ। यसैबिच सपनाले भने आफू कसैसँग नगएको र राहुलको हिंसा सहन नसकेर आफ्नै किसिमले जिउन लागेको दाबी गरेकी छन्।
भारतीय सञ्चारमाध्यमसँग उनले भनेकी छन्, ‘जब म राहुलसँग गएँ, उसले मलाई लगभग एक महिनासम्म राम्रो व्यवहार गर्यो। त्यसपछि मलाई थाहा छैन- उसले मलाई के खुवाउन थाल्यो। मलाई केही थाहा थिएन। उसले मलाई बन्धक बनाएर राख्यो। उसले मलाई धेरै कुटपिट गर्थ्यो। अब म कहिल्यै राहुलसँग बस्दिनँ। अब म आफ्नो जीवन आफ्नै तरिकाले बिताउन चाहन्छु।’सपना देवीले राहुललाई महिला बेचबिखन गर्ने गरेको आरोप पनि लगाएकी छन्।
उनले भनेकी छन्, ‘मलाई मेरो निर्णयमा ठुलो पछुतो छ। म एक छिमेकी महिलाको सहयोगमा भागेँ। म शनिबार त्यहाँबाट निस्किएँ र त्यही रात अलीगढ आइपुगेँ। उसले मेरो भिनाजुमाथि झुटा आरोप लगाइरहेको छ। ऊ घृणित मान्छे हो। उसले धेरै केटीहरूको जीवन बर्बाद पारेको छ। उसलाई सजाय हुनुपर्छ। उसलाई जेल हाल्नुपर्छ।’

























Discussion about this post