एजेन्सी । भूकम्पकै कारण हजारभन्दा बढी जनाको मृत्यु भएको अफगानिस्तानमा तेस्रोपटक भूकम्प गएको छ। बीबीसीका अनुसार अफगानिस्तानको दुर्गम दक्षिण-पूर्वी क्षेत्रमा बिहीबार राति ५.६ म्याग्निच्युडको भूकम्प गएको हो।स्थानीय समयअनुसार बिहीबार राति ८:५६ बजे भूकम्प गएको हो। नान्गारहार र कुनार प्रान्तमा भूकम्पको धक्का महसुस भएपछि मानिसहरू आत्तिएर आफ्नो घरबाट बाहिर निस्किएका थिए।
यो भूकम्पबाट थप जनधनको क्षतिबारे अहिलेसम्म आधिकारिक जानकारी आइसकेको छैन। तर स्थानीय डाक्टरहरूले बीबीसीलाई बताएअनुसार १७ जना घाइतेलाई अस्पताल भर्ना गरिएको छ। यसअघि मंगलबार पनि अफगानिस्तानको दक्षिण-पूर्वी भागमा ५.५ म्याग्निच्युडको भूकम्प गएको थियो। यो दोस्रो धक्का थियो।
यसअघि आइतबार राति ६.० म्याग्निच्युडको भूकम्प जाँदा ठूलो मात्रामा जनधनको क्षति भएको छ। संयुक्त राष्ट्रसंघको मानवीय मामिला समन्वय कार्यालयका अनुसार आइतबार गएको भूकम्पका कारण हालसम्म १ हजार ३६८ जनाको मृत्यु भएको छ भने २ हजार १८० जना घाइते भएका छन्। बीबीसी उर्दूका अनुसार, अफगानिस्तानमा तेस्रोपटक बिहीबार राति गएको भूकम्पको धक्का पाकिस्तानका पनि धेरै क्षेत्रमा महसुस गरिएको थियो।




























Discussion about this post