ओमानमा बन्धक बनाइएकी झापाकी सञ्जीता उद्धार पछि घर फर्किन
- मंसिर १४, २०८० मा प्रकाशित
झापा । वैदेशिक रोजगारीका सिलसिलामा ओमान पुगेकी मेचीनगर नगरपालिका–१५ निवासी २८ वर्षीया सञ्जिता राजबंशीलाई रोजगारदाता कम्पनीले अलपत्र पारेपछि उद्धार गरेर स्वदेश फकाइएको छ । गत असोज ३० गते स्काइ अफ दी वल्र्ड नामक म्यानपावर कम्पनीले मासिक ५० हजार तलब दिने आश्वासनमा उनलाई ओमानको अल लुल्लाह अल मिथल्ता ट्रेडिङ कम्पनीमा पुर्याएको थियो ।
ब्यूटीपार्लरको काम दिने भनेर कम्पनीले मुख्य सहरबाट टाढा एकान्तमा रहेको तीन तले भवनमा पु¥याएर पर्यटकलाई नुहाइ दिने र मसाज गर्ने काममा जबररजस्ती लगाउने प्रयास गरेको थियो । पुरुष पर्यटकलाई नुहाइदिने र शरीर मालिस गर्ने काम गर्न अस्वीकार गरेपछि रोजगारदाता कम्पनीका अरेबियन सञ्चालकले मानसिक दबाब दिएर अज्ञात स्थानमा बन्धक बनाएर राखेको उनले बताइन् ।
कम्पनीका सञ्चालकले मुख थुनेर शारीरिक यातना समेत दिने गरेको उनले सुनाइन् । सञ्जिताले यो खबर नेपालस्थित आफ्नो परिवारसम्म पु¥याएपछि झापा निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभाका सदस्य विश्वप्रकाश शर्मामार्फत ओमानस्थित नेपाली दूतावासले उनको सकुशल उद्धार गरेको हो । सञ्जिताले ओमानमा सकसपूर्ण ४० दिन बिताएकी थिइन् । उद्धारपछि यही मंसिर ११ गते उनी घर आइपुगेकी हुन् । घर आइपुगेपछि उनले ओमानको कालकोठरीबाट बाँचेर आएको बताइन् ।
‘ओमानमा मलाई चार तले भवनको अँध्यारो कोठामा एक्लै राखेर पर्यटकलाई नुहाइदिने काम गर्न जबरजस्ती गरे’, उनले भनिन्, ‘ब्यूटीपार्लरको काम दिने भनेर ल्याएको हो, यस्तो काम गर्दिन भनेर मैले ठाडै अस्वीकार गरेँ । त्यसपछि मलाई उनीहरुले बन्धक बनाएर तनाव दिए ।’ उनले मसाजको काम नगर्ने स्पष्ट पार्दै आफूलाई नेपाल फर्किने वातावरण बनाइदिन आग्रह गर्दा रोजगारदाता कम्पनी अल लुल्लाह अल मिथल्ता ट्रेडिङका सञ्चालकले रु दुई लाख ५० हजार माग गरेको बताइन् ।
‘तिमीलाई दुई लाख ५० हजारमा हामीले किनेर ल्याएको हो, त्यो पैसा घरबाट ल्याएर हामीलाई देउ अनि मात्र घर फर्किन पाउँछौँ भन्यो’, रोजगारदाता कम्पनीबाट पाएको सास्ती सुनाउँदै उनले भनिन्, ‘त्यसपछि मैले बाँच्ने आशा मारिसकेको थिएँ ।’ उनी ‘हेयर स्टाइलिस्ट’ को काम गर्ने लिखित सम्झौतासहित स्काई अफ दी वल्र्ड म्यानपावर कम्पनीको विर्तामोड शाखामार्फत ओमान पुगेकी थिइन् । विर्तामोडमा रहेको अप्सरा ब्यूटीपार्लरमा काम सिक्दा पार्लरकी सञ्चालक ललिता अधिकारीले स्काई म्यानपावरमार्फत आफूलाई ओमान जान प्रलोभन देखाएको सञ्जिताले सुनाइन् ।
ओमानमा अलपत्र परेपछि सञ्जिताका परिवारका सदस्यहरुले उद्धारका लागि स्काइ मेनपावर कम्पनी र अप्सरा ब्यूटीपार्लर गुहारेका थिए । दुबै पक्षले आफूले जिम्मेवारी नलिने बताएपछि सञ्जिताका काका वृक्षलाल राजबंशी सांसद विश्वप्रकाश शर्मालाई भेट्न गएका थिए । ‘मलाई कम्पनीले अलपत्र पार्यो, छिटो उद्धार भएन भने म झुण्डिएर मर्छु भनेर भतिजीले म्यासेज पठाएपछि हामी अत्तालियौंँ’, सञ्जिताका काका राजबंशीले भने, ‘जसले ओमान पठाएको हो, त्यही म्यानपावर र ब्यूटीपार्लरमा जाँदा केही पनि जान्दैनौंँ भनेर फर्काइदिए ।’ सांसद् शर्माले ओमानस्थित नेपाली दूतावासमा सम्पर्क गरेपछि दूतावासकै पहलमा सञ्जिताको शीघ्र उद्धार भएको थियो । ओमान जाँदा रु एक लाख ५० हजार म्यानपावर कम्पनीले लिएको सञ्जिताले बताइन् । उद्धारपछि घर फर्किदा निःशुल्क आउन पाएको उनले बताइन् ।
सम्बन्धित खवर
-
ताजा बैशाख १९, २०८१श्रीमती रञ्जितासँगको सहमति भङ्ग भएपछि रेशम ‘फायर’, २० मिनेटमा सात स्टाटस
-
ताजा बैशाख १९, २०८१एक करोड १७ लाख विगो माग भएको जलहरी घोटाला प्रकरण : थापा, ढकाल र श्रेष्ठलाई सफाइ
-
ताजा बैशाख १९, २०८१आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, देशभर सार्वजनिक बिदा
-
ताजा बैशाख १८, २०८१इलाम-२ मा रास्वपाका मिलन लिम्बूको जमानत जफत
-
ताजा बैशाख १८, २०८१एमालेको कान्छो सांसद बनेर पूर्णकालीन राजनीतिमा सुहाङको शानदार ‘इन्ट्री’
Comments