इटहरी । प्रतिनिधिसभाको अन्तिम परिणाम घोषणा भएको ३५ दिनभित्र नयाँ प्रधानमन्त्री नियुक्त गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ।त्यसकारण ढिलोमा पनि वैशाख १० गतेभित्र देशले नयाँ प्रधानमन्त्री नियुक्त गरिसक्नु पर्ने संवैधानिक बाध्यता रहेको कानुनका जानकारहरू बताउँछन्।
नयाँ संविधान जारी भएपछि पहिलो पटक एउटै दलले स्पष्ट बहुमत पाएको र बहुमतप्राप्त दलले पनि निर्वाचन अघि नै प्रधानमन्त्रीको उम्मेदवार तय गरिसकेका कारण नयाँ प्रधानमन्त्री बन्न अन्तिम समयसीमा पर्खन नपर्ने रास्वपा नेताहरू बताउँछन्।उनीहरूका अनुसार आगामी साताको सुरुमै देशले नयाँ प्रधानमन्त्री पाइसक्ने सम्भावना छ।
राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीका वरिष्ठ नेता तथा काठमाण्डू महानगरपालिकाका पूर्वमेअर बालेन्द्र शाह बालेनलाई नयाँ प्रधानमन्त्री बनाउने घोषणा गरेको थियो।पार्टी सभापतिसँग भएको उक्त सम्झौतापछि स्वतन्त्र निर्वाचित मेअर बालेन रास्वपा प्रवेश गरेका थिए। माघ ५ गते मधेशको जनकपुरमा रास्वपाको सभालाई सम्बोधन गर्दै बालेनले भनेका थिए, ‘आइ एगो मधेशीया छौँडा प्रधानमन्त्री बनेला हई’ अर्थात् ‘अब मधेशको केटो प्रधानमन्त्री बन्नेवाला छ।’
रास्वपाको तयारी के छ ?
नेपालको शासकीय स्वरूप प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री प्रणालीको नभएका करण रास्वपाले चुनावअघि घोषणा गरेर मात्रै पुग्दैन। नयाँ प्रधानमन्त्री चयनका लागि रास्वपाले आफ्नो संसदीय दलको नेता चयन गर्नुपर्ने हुन्छ।संविधानको धारा ७६ को उपधारा १ ले बहुमत प्राप्त दलको संसदीय दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्ने व्यवस्था गरेको छ।
जसकारण अन्तिम निर्वाचन परिणाम प्राप्त भए लगत्तै आफ्नो संसदीय दलको नेता चयन गर्ने तयारी रास्वपाले गरेको नेताहरूले बताएका छन्।रास्वपाको विधानले संसदीय दलको नेता चयन गर्ने प्रक्रिया धेरै लामो राखेका कारण त्यसलाई संशोधन गर्ने विषयमा छलफल चलिरहेको विवरण आएका छन्। बीबीसीले नयाँ प्रधानमन्त्रीको शपथ कहिले हुन्छ भनेर रास्वपाका केही नेताहरूलाई सोधेको थियो।
‘मेरो व्यक्तिगत विचारमा छिटोमा चैत ९ वा १० गतेसम्म हुन सक्छ,’ रास्वपा नेता तथा पूर्वमन्त्री शिशिर खनालले बीबीसी न्यूज नेपालीसँग भने।रास्वपाका अन्य नेताहरू पनि चैत ९ गते सोमवार नयाँ प्रधानमन्त्रीको शपथ हुन सक्ने बताउँछन्।
राष्ट्रपति कार्यालयको तयारी के छ ?
राष्ट्रपति कार्यालयले हालसम्म नयाँ प्रधानमन्त्रीको शपथको मितिबारे कुनै जानकारी नभएको बताएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले शपथ कार्यक्रमका लागि आफूहरू तयारी अवस्थामै रहेको बताए।’हामी तयारी अवस्थामै छौँ। तर अहिलेसम्म कहिलेलाई तयारी गर्ने भन्ने कुनै जानकारी आएको छैन,’ शाक्यले भने।
प्रधानमन्त्री बन्ने व्यक्तिले पहिले सांसदको शपथ लिनुपर्छ कि पर्दैन भन्नेमा कतिपय विज्ञले प्रश्न उठाएका छन्। तर यसअघि सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले स्पष्ट बहुमत भएको अवस्थामा राष्ट्रपतिले संसद्को पहिलो बैठक बस्नुअघि नै प्रधानमन्त्री नियुक्त गर्न सक्ने बीबीसीसँग बताएका थिए।



























Discussion about this post