इटहरी । सेयरबजार सोमबार पनि बढेको छ। सूचक नेप्से ५.०१ अंकले बढेर कारोबार बन्द भएको हो। नेपाल स्टक एक्सचेन्जका अनुसार ०.१७ प्रतिशत वृद्धिसँगै बजार २९३६.५६ विन्दुमा पुगेको छ। अघिल्लो दिन साढे २३ अर्बको कारोबार भएकामा सोमबार पनि १५ अर्ब ७८ करोडको सेयर किनबेच भएको छ। यस दिन ३ करोड ८० लाख कित्ता किनबेचमा यो परिमाणमा कारोबार भएको हो।
यो कारोबारमा १०२ वटा सेयरको मूल्य बढ्दा १५४ वटाको घटेको र ८ वटाको आइतबारकै मूल्यमा कारोबार भएको छ। सोमबार बजारमाा सालपा विकास बैंक, रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रो र भुजुङ हाइड्रोको सेयर १० प्रतिशतले बढेको छ भने सनराइज फर्स्ट म्युचुअल फन्डलगायत अधिकतम ३.७१ प्रतिशतसम्मले घटेका छन्।
नेप्सेका अनुसार आज पनि कुमारी बैंकको ६७ करोडको कारोबार भएको छ। यो नै आजको सर्वाधिक कारोबार हो। त्यसैगरी शिवम् सिमेन्टको ६० करोड, नेशनल हाइड्रोपावर ५७ करोड, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभपमेन्ट र ङादी ग्रुप पावरको ५४ करोडको सेयर किनबेच भएको छ। आज फाइनान्स, जलविद्युत्, उत्पादन, माइक्रोफाइनान्स, सामूहिक लगानी र अन्य समूह बढे पनि बाँकी घटेका छन्। सोमबार २९३९ विन्दुबाट सुरु भएको कारोबार उतारचढावका बीच अन्तिममा ५ अंकले बढ्नपुगेको हो।



























Discussion about this post