इटहरी ।नेकपा एमालेले माथिल्लो सगरमाथा क्षेत्रका जिल्ला खोटाङ, ओखलढुंगा र सोलुखुम्बुमा नयाँ उम्मेदवार उठाएको छ।यसअघि पटक पटक चुनाव जितेका र मन्त्री भएकाहरुलाई एकसाथ छुटाउँदै एमालेले नयाँ नेताहरुलाई चुनावमा उम्मेदवार बनाएको हो। एमालेले सोलुखुम्बुमा उम्मेदवार बनाएकी कल्पना राई दुधकुण्ड नगरपालिकाकी पूर्वउपमेयर हुन्। एमाले जिल्ला कमिटिको सचिवमा कार्यरत छिन्।
यसअघि २०७९ को निर्वाचनमा सोलुखुम्बुबाट कांग्रेस-माओवादीको गठबन्धनलाई पराजित गर्दै विजयी भएका मानवीर राईलाई एमालेले टिकट दिएन। उनी केपी ओली प्रधानमन्त्री हुँदा रक्षा मन्त्री थिए।तर पूर्वमन्त्री राईले यसपटक एमालेको टिकट पाएनन्। सोलुखुम्बुसँगै जोडिएको अर्को जिल्ला ओखलढुंगामा पनि यसअघिका उम्मेदवार दोहोरिएनन्। पटक-पटक टिकट पाउँदै आएका यज्ञराज सुनुवारले यसपालि टिकट पाएनन्।
सुनुवार यसअघिको निर्वाचनमा नेपाली कांग्रेसका रामहरि खतिवडासँग पराजित भएका थिए। खतिवडासँग पराजित भएका सुनुवारलाई नदोहोर्याएको एमालेले लिखु गाउँपालिकाकी उपाध्यक्ष अस्मिता थापालाई उम्मेदवार बनाएको हो। हालै सम्पन्न एमाले महाधिवेशनमा अस्मिता लोकप्रिय मतसहित केन्द्रीय सदस्यमा निर्वाचित भएकी थिइन्। तर केन्द्रले उनलाई उम्मेदवार बनाएर पठाएपछि एमाले ओखलढुंगाका नेताहरुले लफडा निकालेका छन्।
अर्को छिमेकी जिल्ला खोटाङमा पनि एमालेले ५ वटा निर्वाचनपछि उम्मेदवार परिवर्तन गरेको छ। २०५६ सालदेखि निरन्तर चुनाव लड्दै आएका विशाल भट्टराईले यसपाली टिकट पाएनन्। २०५६ र २०६४ सालका निर्वाचनमा पराजित भएका भट्टराई २०७० सालको निर्वाचनमा विजयी भएका थिए।
२०७४ सालमा पनि चुनाव जितेका उनी २०७९ मा कांग्रेस माओवादी गठबन्धनसँग पराजित भएका थिए। ५ वटा चुनाव लड्दा तीन वटामा पराजित भएका भट्टराईलाई छुटाएर एमालेले खोटाङमा जिल्ला अध्यक्ष देवविक्रम राईलाई उम्मेदवार बनाएको हो। भट्टराई यसअघि एमालेको प्रमुख सचेतक पनि भएका थिए। तर फागुन २१ को निर्वाचनमा उनले टिकट पनि पाएनन्। एमालेको महाधिवेशनबाट उनी पनि लोकप्रिय मतसहित केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए।



























Discussion about this post