इटहरी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कोशी प्रदेशका केही निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ । पार्टीले यस पटक नयाँ र अनुभवी दुवै अनुहारलाई अघि सारेको छ ।खोटाङबाट अर्थ तथा राजनीतिक विश्लेषक डा. हरि रोकालाई नेकपाले प्रतिनिधिसभा सदस्यको टिकट दिएको छ ।
दिप्रुङ चुइचुम्मा गाउँपालिका-२ डाँडागाउँका निवासी डा. रोकालाई पार्टीले भावी अर्थमन्त्रीको सम्भावनासहित अघि सारेको जिल्ला संयोजक दीपक पाण्डे ‘आकाश’ले जानकारी दिए।यसैगरी झापा-१ बाट युवानेता अशेष घिमिरे उम्मेदवार बनेका छन् । पाँचथरबाट हर्क साम्पाङ मेक्सो पहिलो पटक चुनावी मैदानमा उत्रिएका छन् । उनी पूर्वमाओवादी कोशी प्रदेश अध्यक्ष हुन् ।
झापा निर्वाचन क्षेत्र नम्बर-५ बाट नेकपाले अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष रञ्जित तामाङलाई उम्मेदवार बनाएको छ। पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तामाङलाई टिकट दिएका हुन्। झापा-५ एमाले अध्यक्ष केपी शर्मा ओली निर्वाचित भएको क्षेत्र हो ।
झापा-२ बाट पार्टी केन्द्रीय सदस्य धर्मशिला चापागाईँ उम्मेदवार बनेकी छन् । पूर्वराज्यमन्त्री तथा संविधानसभा सदस्य चापागाईँ पुरानो कम्युनिस्ट नेतृको रूपमा चिनिन्छन्। २०७९ को निर्वाचनमा यस क्षेत्रमा एमालेका देवराज घिमिरे विजयी भएका थिए ।
सुनसरी निर्वाचन क्षेत्र नम्बर-२ बाट नेकपाले रामकुमारी चौधरीलाई उम्मेदवार बनाएको छ। उनी २०७४ मा समानुपातिकतर्फ सांसद रहेकी थिइन्। नेकपाले सुरुमा नै युवाहरू र अहिलेसम्म अवसर नपाएकालाई उम्मेदवार बनाउने घोषणा गरेको थियो । सोही घोषणाअनुसार केही क्षेत्रमा नयाँ अनुहारलाई अवसर दिइएको छ भने केही ठाउँमा अनुभवी नेताहरूलाई निरन्तरता दिइएको छ ।



























Discussion about this post