इटहरी । निर्वाचन आयोगले शुक्रबार अपरान्ह नेपाली कांग्रेसको भृकुटीमण्डपको विशेष महाधिवेशनलाई मान्यता दिँदै विवरण अद्यावधिक गर्ने निर्णय गरेको छ । आयोगले तत्कालीन कार्यसमितिले गरेका कामकारबाहीमा प्रश्न उठाउँदै विवरण अद्यवाधिक गर्ने निर्णय लिएको हो । योसँगै गग थापा नेतृत्वको कांग्रेस आधिकारिक कांग्रेस भएको छ ।
कांग्रेसको आन्तरिक विवादबीच विशेष महाधिवेशनबाट निर्वाचित थापा नेतृत्वको कार्यसमितिलाई शुक्रबार निर्वाचन आयोगले मान्यता दिएपछि शेरबहादुर देउवा पक्ष कानुनी र राजनीति संघर्षमा उत्रिएको छ। आइतबार देउवा पक्ष सर्वोच्च अदालत पुगेको हो । तर अदालतको निर्णय नआउँदै देउवा पक्ष लचिलो भएको छ ।
देउवा पक्षका नेता मीनबहादुर विश्वकर्माले मिल्ने संकेत गरेका छन् । उनले घेराबन्दीबाट बाहिर निस्केर मिलनविन्दु खोज्न नेताहरूलाई सुझाव दिएका छन्। सामाजिक सञ्जालमार्फत उनले देउवासहित पूर्णबहादुर खड्का, शेखर कोइराला, गगन थापालगायतलाई सम्वादमा बस्न अपील पनि गरेका छन्।
‘हिजो भाद्र २४ को उपचार फागुन २१ को निर्वाचन हुन सक्छ भने जस्तै हाम्रो झगडाको मिलन पनि यही निर्वाचनले गराउन सक्छ’ उनले भनेका छन्, ‘हिजो उम्मेदवारको टिकटमा कस्को हस्ताक्षर हुने भन्ने विवाद थियो। आधामा देउवाले गर्नु भयो। बाँकीमा अब गगनले गर्नु हुन्छ। सबैको सहमतिमा उम्मेद्वार चयन गरौँ। उत्साहका साथ निर्वाचनमा कांग्रेसी उम्मेद्वारको पक्षमा भोट माग्ने वातावरण बनाऔँ। यसका लागि देउवा, गगन, पूर्णबहादुर, शेखर एकठाउँमा अहिलै बस्नुस्। घेराबन्दीबाट बाहिर आउनुहोस् र निर्णय गर्नुहोस्।’
उनले हिजो टिकटमा हस्ताक्षर कसले गर्ने भन्ने विवाद रहेकोमा आधा (समानुपातिक) मा देउवाले हस्ताक्षर गरिसकेको अवस्थामा आधा (प्रत्यक्ष) मा गगनले हस्ताक्षर गर्ने भन्दै अब त्यो विवादको विषय हुन नहुने बताएका छन्।
उनले विशेष महाधिवेशनको प्रक्रिया, निर्वाचन आयोगको भूमिका र अदालतको निष्क्रियतासँग आफ्नो पनि विमति रहेको भन्दै लेखेका छन्, ‘यसकाबारेमा आयोग र अदालतमा हाम्रा विमतिहरू दर्ज भएर विचाराधीन छन्। तर प्रक्रियामा काफी विमतिका बाबजुद पनि फागुन २१ को निर्वाचनको परिणामलाई मध्यनजर गरी हाम्रा बिचमा ऐतिहासिक सहमति र एकता हुनु अपरिहार्य छ।’
निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नयाँ पार्टी खोल्ने र स्वतन्त्र उम्मेदवारी दिने पक्षमा आफूहरू नरहेको बताएका छन्। निर्वाचन आयोगको निर्णयको विरूद्धमा आफूहरू सर्वोच्च अदालत गएको र सर्वोच्च अदालतले दिने निर्णय आफूहरूलाई स्वीकार्य हुने खड्काले बताएका छन्। आइतबार सामाजिक सञ्जाल एक्समा लेख्दै खड्काले रूख चुनाव चिह्न बाहेक अन्यथा सोच्न पनि नसकिने उल्लेख गरेका हुन्। खड्काले भनेका छन्, ‘निर्वाचन आयोगको निर्णयका विरुद्धमा पार्टीको आधिकारिकताको वैधानिक दाबी र कानुनी उपचारको लागि न्याय पाउने विश्वासका साथ आज हामी सर्वोच्च अदालत गएका हौँ । अदालतको निर्णय हामीलाई स्वीकार्य र मान्य हुनेछ । रुख चुनाव चिह्नबाहेक अन्यथा सोच्न र कल्पना पनि गर्न म सक्दिनँ ।’



























Discussion about this post