इटहरी । इटहरी–२ को आयुर्वेदिक टोललाई आध्यात्मिक तथा धार्मिक पर्यटन केन्द्रका रूपमा विकास गर्ने उद्देश्यसहित गत कार्तिक १४ गतेदेखि त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र, कोशी प्रदेशद्वारा आयोजित श्रीमद्भागवत धान्याञ्चल जीवनदर्शन सत्सङ्ग शुक्रबार भव्य रूपमा सम्पन्न गरिएको छ। हजारौँ भक्तजन, विशिष्ट व्यक्तित्व, पत्रकार, शिक्षक, बुद्धिजीवी तथा नेपालका प्रथम ऐतिहासिक जगद्गुरु अनन्त श्रीविभूषित बालसन्त मोहन शरण देवार्चाय महाराजको कोमल वाणीसहित सत्सङ्गको भव्य समापन गरिएको थियो।
समापन समारोहमा सातौं दिनसम्म अहाेरात्र खटिने स्वयंसेवक, कर्मचारी, १०८ शिवलिङ्गदाताहरू, सुरक्षाकर्मी, भान्साका सहयोगी तथा प्रचार–प्रसारमा सहयोग पुर्याउने सञ्चारगृह र आवद्ध सञ्चारकर्मीहरूलाई सम्मानपत्र सहित सम्मान गरिएको थियो।
सत्सङ्गको छैटौं दिनसम्म धरतीको पहिलो तीर्थ बराहक्षेत्र धामका मुख्य पुजारी तथा पुराणवाचक युवा पण्डित योगेश भण्डारी, रमेश कोइराला लगायतको मुखारवृन्दबाट विभिन्न धार्मिक कथा वाचन गरिएको थियो। साथै स्वयंसेवकहरूले विविध झाँकी प्रदर्शन गरी उपस्थित हजारौँ भक्तजनलाई मनोरञ्जन दिलाएका थिए।
सत्सङ्गको अन्तिम दिन त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र त्रिनेत्रेश्वरधाम, बर्दघाटबाट आएका टोलीलाई भव्य स्वागत गरिएको थियो। गत कार्तिक १४ गते सत्सङ्गको सुरुवातसँगै १७ गते त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र, कोशी प्रदेशको संकल्पमा स्थापित १०८ शिवलिङ्गको धार्मिक विधिअनुसार प्राण प्रतिष्ठा समेत गरिएको थियो।
सत्सङ्गलाई कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले उद्घाटन गर्दै भव्य र सभ्यकाे शुभकामना दिएका थिए। दोस्रो दिन मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सम्बोधन गर्दै यस क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउन व्यक्तिगत रूपमा तथा प्रदेश सरकार दुवै प्रतिबद्ध रहेको उल्लेख गरेका थिए।
सत्सङ्गको छैटौं दिन कोशी प्रदेशसभा सांसद रमेश बस्नेत र विजय राईले इटहरी धार्मिक पर्यटकहरूको हब बनिसकेकोले पर्यटन क्षेत्रमा १०८ शिवलिङ्ग नयाँ गन्तव्य बन्न सक्ने धारणा राखेका थिए। सांसदद्वयले इटहरीस्थित त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र परिसरमा स्थापित १०८ शिवलिङ्ग क्षेत्रलाई अझ क्रियाशील र सशक्त बनाउन तीनै तहका सरकारसँग समन्वय गरी आवश्यक बजेट विनियोजनका लागि दबाब दिने प्रतिबद्धता व्यक्त गरे।
सत्सङ्गको पहिलो दिनदेखि नै विशिष्ट व्यक्तिहरूलाई भव्य स्वागत गरिएको थियो। कार्यक्रमअन्तर्गत १०८ शिवलिङ्ग दाताहरूलाई सम्मानपत्र प्रदान गरिएको थियो। सोही अवसरमा दाताहरूले खाद्यान्न, लत्ता–कपडा, जिन्सी तथा नगद समेत खुलेरै दान गरेका थिए।सत्सङ्गको छैटौं दिन साँझ हजारौँ भक्तजनहरूको उपस्थितिमा सवा ११ लाख दीप प्रज्वलन गरिएको थियो। कार्यक्रम त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र, कोशी प्रदेशकी अध्यक्ष सुभद्रा प्याकुरेलको सभाध्यक्षतामा सम्पन्न गरिएको थियो। कार्यक्रममा त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रका संरक्षक पीठाधीश महेश्वरानन्द केशरपुरी महाराजको पनि उपस्थिती रहेको थियो।


























Discussion about this post