इटहरी। सुनसरीको इटहरी–२, आयुर्वेदिक टोलस्थित त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र द्वारा आयोजित श्रीमद्भागवत धन्याञ्चल सत्सङ्ग आज शुक्रबार सम्पन्न हुँदैछ। इटहरीलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन गत कार्तिक १४ गतेदेखि उक्त सत्सङ्गको आयोजना गरिएको थियो।
सत्सङ्गमा हजारौँ भक्तजनहरूले सक्रिय सहभागिता जनाउँदै विभिन्न धार्मिक कथाहरू सुनेका थिए भने त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र परिसरमा स्थापित १०८ शिवलिङ्गको दर्शन गरी खुला रूपमा दान गरेका थिए।
सत्सङ्गको पहिलो दिन कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले उद्घाटन गरेका थिए भने दोस्रो दिन मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सम्बोधन गर्दै यस क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउन व्यक्तिगत रूपमा तथा प्रदेश सरकार दुवै कटिबद्ध रहेको उल्लेख गरेका थिए।
सत्सङ्गको छैटौँ दिन कोशी प्रदेश सभा सांसद रमेश बस्नेत र विजय राईले इटहरी धार्मिक पर्यटकहरूको हब बनिसकेकोले पर्यटन क्षेत्रमा १०८ शिवलिङ्ग नयाँ गन्तव्य बन्न सक्ने धारणा राखेका थिए। सांसदद्वयले इटहरीको त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र परिसरमा स्थापित १०८ शिवलिङ्ग क्षेत्रलाई अझ क्रियाशील र सशक्त बनाउन तीनै तहका सरकारसँग समन्वय गरी आवश्यक बजेट विनियोजनका लागि दबाब दिने प्रतिबद्धता व्यक्त गरे।
सत्सङ्गको पहिलो दिनदेखि नै विशिष्ट व्यक्तिहरूलाई भव्य स्वागत गरिएको थियो। कार्यक्रम अन्तर्गत १०८ शिवलिङ्ग दाताहरूलाई सम्मानपत्र प्रदान गरिएको थियो। सोही अवसरमा दाताहरूले खाद्यान्न, लत्ता–कपडा, जिन्सी तथा नगद समेत खुलेरै दान गरेका थिए। सत्सङ्गको छैटौँ दिन साँझ हजारौँ भक्तजनहरूको उपस्थितिमा सवा ११ लाख दीप प्रज्वलन गरिएको थियो।
सातौँ दिन शुक्रबार नेपालका प्रथम ऐतिहासिक जगद्गुरु अनन्त श्रीविभूषित बालसन्त मोहन शरण देवार्चाय महाराजको उपस्थितिमा १०८ शिवलिङ्गको दर्शन तथा पूजा–पाठ गरिएको छ। सत्सङ्गलाई धार्मिक विधिअनुसार सभ्य र भव्य रूपमा समापन गर्ने तयारी भइरहेको आयोजक समितिले जनाएको छ।
कार्यक्रममा त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रका पीठाधीश संरक्षक महेश्वरानन्द केशर पुरी महाराज, पुराणवाचक युवा पण्डित योगेश भण्डारी, रमेश कोइराला, केन्द्रकी अध्यक्ष सुभद्रा प्याकुरेललगायतको उपस्थिती रहेको थियो।

























Discussion about this post