•  ७ पुष २०८१, आईतवार
  •  12:36:44 PM

इटहरीमा नेपाल जेशीजकाे ५१औं महाधिवेशन : देश धेरै हिसाबले अगाडि लम्कँदैछ : प्रधानमन्त्री ओली

- पुष ६, २०८१ मा प्रकाशित



इटहरी । नेपाल जेसिजको आयोजनामा र इटहरी जेसिजको आतिथ्यमा नेपाल जेसिजको ५१औं महाधिवेशन सुनसरीको इटहरीमा सुरु भएको छ। तीन दिनसम्म चल्ने यस महाधिवेशनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका हुन्। उद्घाटन समारोहमा प्रमुख अतिथि प्रधानमन्त्री ओलीले जेसिजले नेतृत्व विकास, उद्यमशीलता प्रवर्द्धन, र व्यक्तिलाई सक्षम बनाउने कार्यमा गरेको योगदानको प्रशंसा गरे। उनले समृद्धि हासिल गर्दै भए पनि गरिबीको चुनौती कायम रहेको उल्लेख गर्दै यस्तो अवस्था परिवर्तन गर्न आवश्यक रहेको बताए।प्रधानमन्त्री ओलीले राजनीतिक व्यवस्थामा आएको परिवर्तनपछि देश धेरै हिसाबले अगाडि लम्कँदै गरेको बताए ।

नेपाल जेसिजको ५१औं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिक परिवर्तनभन्दा अगाडि र पछाडिका पूर्वाधार र आर्थिक विकास तथा रोजगारीका अवसरलगायत क्षेत्रमा व्यापक भिन्नता आएको बताए । “हामीलाई चाहिएको मानव जातिको सुख हो । हाम्रा मेहनतको ध्येय सुख पाउनु हो । ज्ञान, बुद्धि र मति कस्तो छ भन्ने आधारमा मानिसको मूल्यांकन हुन्छ । ती तिनै भए पनि बुद्धि भ्रष्ट भएमा काम लाग्दैन । मानिसमा शालिनता र विनम्रता चाहिन्छ ।

आफूभित्र घमण्ड हुनु हुँदैन”, मानिसले प्राप्त गरेको ज्ञान र बुद्धिलाई ठिक मतिले प्रयोग गर्न सकेमा मानवीय सुख प्राप्त गर्न सकिने बताउँदै उनले भने, “जेसिजले अनुशासन सिकाउँछ, अरुलाई सम्मान दिएर मनोबल सकारात्मक बनाउन प्रेरित गर्छ । यसले मुख छाड्न र गाली गर्न सिकाउँदैन । वातावरण जोगाउँन सिकाउँछ । यी प्रेरणाहरु मानव जातिका लागि आवश्यक छन् । समृद्ध नेपाल, सुखी नेपालको लक्ष्य पनि यही हो हामी नेपाली एकताबद्द भएर यो लक्ष्य प्राप्तिमा लाग्नुपर्छ ।”

विश्व ध्यान दिवसको सन्दर्भ उल्लेख गर्दै उनले यस दिवसलाई सँधै अपनाउन र मानवोचित हितलाई केन्द्रमा राखेर जनता र पृथ्वीलाई जोगाउन जिम्मेवार हुन आग्रह गरे । महाधिवेशनको उद्घाटन सत्रको अध्यक्षता नेपाल जेसिजका अध्यक्ष रविन पोखरेलले गरेका थिए। कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिकमतकुमार कार्की, कानुनमन्त्री रेवतीरमण भण्डारी, वनमन्त्री सदानन्द मण्डल, र इटहरी उपमहानगरपालिका प्रमुख हेमकर्ण पौडेललगायतका विशिष्ट अतिथिहरूको उपस्थिति थियो।

महाधिवेशनमा नेपाल जेसिजका १७८ शाखाको सहभागिता रहेको छ। सो अवसरमा विभिन्न शाखाले सिफारिस गरेका विशिष्ट व्यक्तित्वहरूलाई सम्मान पनि प्रदान गरिएको छ।कार्यक्रमको निर्देशन इटहरी जेसिजका पूर्वअध्यक्ष दीपक ढकालले गरेका थिए भने आतिथ्य भूमिका इटहरी जेसिजका अध्यक्ष सुमन सुवेदीले निर्वाह गरेका थिए।

Comments

सम्बन्धित खवर