•  ६ कार्तिक २०८१, मंगलवार
  •  1:14:19 AM

काँकडभिट्टा नाकामा प्रहरी र अध्यागमनका कर्मचारीद्वारा भारतीय पत्रकारलाई दुर्व्यवहार

- कार्तिक ४, २०८१ मा प्रकाशित



इटहरी/ नेपालको काँकडभिट्टा नाकामा समाचार सङ्कलनका लागि पुगेका अग्रज भारतीय पत्रकार पङ्कजकुमार रणजितलाई सीमा सुरक्षार्थ खटिएका प्रहरी र अध्यागमन कार्यालयका कर्मचारीले दुर्व्यवहार गरेका छन् ।
नेपाल–भारत सीमाको रानी (विराटनगर) र काँकडभिट्टा नाकामा आवतजावत गर्ने भारतीयबाट नेपालीमा अवैध असुली हुने गरेको सूचनाका आधारमा त्यस्तो गतिविधिको खबर सङ्कलन गर्न २०८१ असोज २० गते आइतबार पत्रकार रणजित त्यहाँ पुगेका थिए ।
अध्यागमन कार्यालयका कर्मचारीले प्रहरीसँगको मिलेमतोमा अवैध रूपमा मोटरसाइकलवालासँग ३० रुपैयाँ र चारपाङ्ग्रे सवारीसाधनको सय रुपैयाँ लिएर मात्रै प्रवेश दिने गरेको र त्यसबारे समाचार बनाउन प्रमाण सङ्कलन गर्न खोज्दा आफूमाथि दुर्व्यवहार भएको पत्रकार रणजितले सूचना पोर्टललाई बताए ।


‘अवैध असुलीको खबर बनाउन प्रेस लेखिएको मोटरसाइकल लिएर अध्यागमन कार्यालय परिसरमा पुग्दा प्रहरीले मलाई समाचार बनाउन मात्र रोकेनन्,’ रणजितले भने, ‘परिचयपत्र देखाउँदा पनि मलाई गालीसहित अपमानजनक व्यवहार गरे ।’
पत्रकार रणजितका अनुसार अवैध असुली भइरहेकोबारे प्रतिक्रिया लिन जाँदा अध्यागमन कर्मचारीले उनलाई कार्यालय बाहिर निकाली उनको क्यामेरा फुटाउने प्रयास गरे । उनलाई ज्यान मार्ने धम्की दिँदै क्यामेरामा सङ्कलित फुटेजहरू डिलिट गर्न लगाए ।
भारत–नेपाल पत्रकार समन्वय समितिका अध्यक्षसमेत रहेका पत्रकार रणजितमाथि भएको त्यसप्रकारको दुर्व्यवहारको निन्दा र दोषीमाथि कारबाहीको माग गर्दै समितिले विज्ञप्ति प्रकाशित गरेको छ ।

घटनालाई गम्भीरतापूर्वक लिँदै दोषीलाई कारबाही गर्नुपर्ने मागसहित समितिले कोसी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री माननीय लीलाबल्लभ अधिकारीलाई निवेदन पठाएको छ ।

घटनाबारे नेपाल पत्रकार महासङ्घ पदाधिकारी तथा नेपाली पत्रकारहरूको ध्यानाकर्षण गराइएको सो विज्ञप्तिमा सीमाक्षेत्रका प्रहरी तथा कर्मचारीद्वारा समाचार सङ्कलनको क्रममा भएको अवरोध र दुर्व्यवहारको घटनालाई गम्भीरतापूर्वक लिन आग्रह गरिएको छ ।
‘यसप्रकारको घटना र कर्मचारी तथा प्रहरीको व्यवहारले नेपालमा लोकतन्त्र र पत्रकारितामा कुठाराघात भइरहेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यसले नेपाल–भारतबीच कायम रोटी–बेटीको साइनो जोडिएको परम्परागत सुमधुर सम्बन्ध बिगार्ने काम भइरहेको छ ।’
घटनालाई गम्भीरतापूर्वक लिँदै दोषीलाई कारबाही गर्नुपर्ने मागसहित समितिले कोसी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री माननीय लीलाबल्लभ अधिकारीलाई निवेदन पठाएको छ ।
घटनाबारे जानकारी गराउँदै प्रतिक्रिया माग्दा झापा प्रहरी प्रमुख मिलन केसीले त्यसबारे आफूलाई कुनै सूचना नआएको बताए । सुरक्षा संवेदनशील स्थानमा भारतीय पत्रकारले रिपोर्टिङ गर्न आउन नमिल्ने भन्दै प्रहरी उपरीक्षक केसीले सम्भवतः त्यसैकारण सामान्य असमझदारी उत्पन्न भएको हुनसक्ने उल्लेख गरे ।
सीमा नाकामा अवैध असुली भइरहेकोतर्फ ध्यानाकर्षण गराउँदा उपरीक्षक केसीले भने, ‘यदि त्यस्तो छ भने नेपाली पत्रकारहरूले लेख्नुहोस् !’

Comments

सम्बन्धित खवर