•  १९ बैशाख २०८१, बुधबार
  •  8:33:49 AM

कोशी अस्पतालकाे बेथिति : डाक्टर आँफै पठाउँछन् निजीमा विरामी

- मंसिर १४, २०८० मा प्रकाशित


विराटनगर । विराटनगरस्थित कोशी अस्पतालको रेडियोलोजी विभागले दिउँसो १ बजे नै भिडियो एक्स–रे सेवा सेवा बन्द गर्दा विरामीले चर्को शुल्क तिरेर निजी अस्पताल र डाइग्नोष्टिक सेन्टरमा जानुपर्ने बाध्यता रहेको पाइएको छ ।

अस्पतालको सेवा छिट्टै बन्द हुने भएकोले कोशीको आकस्मिक विभागमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीको सिफारिसमा विरामीले निजी डाइग्नोष्टिक सेन्टरमा चर्को शुल्क तिरेर भिडियो एक्स–रे गरिरहेका छन् ।उपचारको लागि आएका विरामीले डाक्टर भेटेर चेकजाँच गरिसक्दा ११–१२ बज्ने गरेको छ भने त्यसपछि भिडियो एक्स–रे गर्न रेडियोलोजी विभागमा पुग्दा सेवा बन्द भइसक्ने अवस्था छ । जसको कारण कोशीकै डाक्टरको सिफारिसमा विरामीहरु दोब्बर बढि शुल्क तिरेर निजी हस्पिटल र डाइग्नोष्टिक सेन्टरमा जान बाध्य छन् ।

विराटनगर– १२ बखरीका ३८ वर्षीय श्याम ऋषिदेवको सोमबार एक्कासी पिसाब रोकिएपछि कोशीको आकस्मिक कक्षमा लगिएको थियो । उपचारमा खटिएका थिए, मेडिकल अपिसर डाक्टर तुलसी गोइत । उनले विरामीको सामान्य स्वास्थ्य जाँच गरेपछि भिडियो एक्स–रे गर्न अस्पतालकोदेखि ५० मिटर पश्चिममा रहेको कोशी मार्केटभित्रको न्यू साहारा डाइग्नोष्टिक केयर सेन्टरमा पठाइदिए ।

कोशीमा ७५० रुपैयाँमा भिडियो एक्स–रे हुने गरेकोमा बाहिर भने १ हजार ५ सय रुपैयाँसम्म तिर्नुपर्छ । अस्पतालले दिएको समयसीमा १ बजेपछि र विदाको दिन आएका विरामीलाई भिडियो एक्स–रे गर्न अस्पतालका स्वास्थ्यकर्मीले बाहिर पठाउने गरेका छन् । श्याम पनि साँझपख आएकोले उनले कोशीमा भिडियो एक्स–रे गर्न पाएनन् । चिकित्सक गोइतले भिडियो एक्स–रे गर्ने डाइग्नोष्टिक केयर सेन्टरको नाम नै पूर्जीमा तोकेपछि उनी त्यहाँ गए र १ हजार ४ सय रुपैयाँ खर्चेर भिडियो एक्स–रे गरे ।

श्यामले भिडियो एक्स–रे गरेको साहारा डाइग्नोष्टिक केयर सेन्टर कोशी अस्पतालमा कार्यरत डाक्टर तुलसी गोइतसहित तीन जना मिलेर करिब चार महिना अगाडि खुलेको हो । आकस्मिक कक्षको ड्युटीमा खटिने गोहितसहित अर्का मेडिकल अपिसर डा.राजा भगत र अहेब प्रविण यादवले साहारा डाइग्नोष्टिक केयर सेन्टर सञ्चालमा ल्याएका हुन् ।उनीहरु तीनै जना कोशी अस्पतालको आकस्मिक कक्षमा कार्यरत छन् । आफ्नो ड्युटीको समयमा उनीहरुले आकस्मिक कक्षमा आउने विरामीलाई भिडियो एक्स–रे गर्न आफ्नै डाइग्नोष्टिक केयरमा पठाउने गरेका छन् ।

कोशी अस्पताल प्रशासनले २४ सै घण्टा भिडियो एक्स–रे सेवा सञ्चालन गर्न नसक्दा अस्पतालकै कर्मचारी र हस्पिटल चोक अगाडी च्याउसरी खुलेका निजी डाइनोष्टिक सेन्टरमा गएर बिपन्न विरामीले चर्को शुल्क तिरेर उपचार गर्नुपर्ने विवशता छ । ‘आकस्मिक कक्षमा उपचारमा खटिएका चिकित्सकले भिडियो एक्स–रे गर्ने डाइनोष्टिक सेन्टरको नाम लेखेर दिएपछि भिडियो एक्स–रे गर्न गएँ,’ ऋषिदेवले भने, ‘भिडयो एक्स–रेको रिर्पोट आएपछि डाक्टरले उपचार सुरू गरे ।’ अण्डकोष सुन्निएको कारणले पिसाब रोकिएकाले उपचारपछि उनी डिस्चार्ज भए ।

दैनिक १ हजारदेखि १ हजार ५ सय जना विरामी ओपीडीमा आउने कोशी अस्पतालले जनशक्ति अभाव देखाउँदै १० देखि १ बजेसम्म मात्र भिडियो एक्स–रे सेवा सञ्चालन गर्दछ । अस्पतालले तोकेको समयभन्दा पछि आउने विरामी निजीमा गएर भिडिक्यो एक्स–रे गर्नुको विकल्प छैन ।कोशी अस्पतालका मेसु डा.चन्द्रभाल झाले जनशक्ति अभावले २४ सै घण्टा भिडियो एक्स–रे सेवा सुचारु गर्न नसकेको बताए । ‘एक जना करार र एक जना छात्रवृत्तिका चिकित्सकले अहिले दैनिक १ सयदेखि १ सय ५० वटा सम्म भिडियो एक्स–रे गर्दै आएका छन्,’ उनले भने, ‘थप रेडियोलोजिष्ट डाक्टर राखेर २४ सै घण्टा भिडियो एक्स–रे सेवा सञ्चालन गर्ने तयारी भने गरिरहेका छौं ।’

ड्युटी समयमा खटिएका अस्पताललका चिकित्सकले डाइनोष्टिक सेन्टरको नाम नै राखेर भिडियो एक्स–रे गर्न पठाएको विषयमा मेसु झाले त्यसो गर्न नमिल्ने बताए । ‘उपचारमा खटिएका डाक्टरले त्यसरी विरामी डाइनोष्टिक सेन्टरको नाम लेखेर पठाएको पाएमा कारवाही गर्नेछौं,’ उनले भने ।

अस्पतालका आकस्मिक विभागको इन्चार्ज कामेश्वर परिहस्तले हस्पिटलका चिकित्सकले डाइनोष्टि सेन्टरको नाम उल्लेख गरेर भिडियो एक्स–रे गर्न पठाए कारवाही गरिने बताए । ‘हामीले सरकारी र विमा भएको हस्पिटलमा पहिलो प्राथामिकता राखेर रिफर गर्ने हो,’ उनले भने, ‘त्यसरी निजी क्लिनिक वा हस्पिटलको नाम उल्लेख गरेर पठाउनु गलत हो । त्यसरी पठाएको पाइए कारवारी गरिनेछ ।’

न्यू साहारा डाइग्नोष्टिक केयर सेन्टरमा दैनिक २० देखि २५ वटासम्म कोशीमा आएका विरामी सेवा लिन पुग्ने गरेका छन् । डाक्टर गोइत छात्रवृत्ति करारको चिकित्सक हुन् भने डाक्टर भगत करारका चिकित्सक हुन् । गाइतले न्यू साहारा डाइग्नोष्टिक केयर सेन्टरमा लगानी नगरेको दाबी गर्दै कुनैपनि विरामीलाई निजी डाइग्नोष्टिक सेन्टरमा भिडियो एक्स–रे गर्न नलेखेको जिकिर गरे ।

Comments

सम्बन्धित खवर