•  २८ कार्तिक २०८१, बुधबार
  •  6:47:54 AM

८ मार्च : परिवारलाई समस्या पर्ने त्रासले हिंसा सहेर बस्न बाध्य

- फाल्गुन २४, २०७८ मा प्रकाशित



सप्तरी: राजविराज नगरपालिका-१ कि ५० वर्षीया महिला बोक्सीको आरोपमा पटक-पटक प्रताडित छिन् । समाजकाे डरले उनी उजुरी गर्न गएकी छैनन् । उनका अनुसार आफन्त र छिमेकीको घरमा कोही बिरामी भएमा बाेक्सीकाे आरोप  लाग्छ । तीन छोरी र एक छोराको विवाह गर्ने बेलामा उजुरी गर्न गएमा घरपरिवार नै समस्यामा पर्ने उनमा पीर छ । 

अग्निसाइर कृष्णासवरण गाउँपालिका- २ कि २७ वर्षीया पूजाकुमारी चौधरीलाई बोक्सीको आरोप लगाएर गाउँलेले कुटपिट गरेपछि  गत २० माघमा इलाका प्रहरी कार्यालयमा उजुरी दिएकी छन् । आरोपित फरार छन्। पूजा भन्छिन्,´गाउँमा काेही बालबालिका बिरामी भयो कि मलाई बोक्सीको आरोप लगाउँछन् । कुटपिट पनि हुन थालेपछि कानुनी उपचारमा गएकी हुँ ।’

राजविराज नगरपालिका-५ कि ६० वर्षीया दुखनीलाई जेठाजुका छोराले बोक्सीको आरोप लगाएर छिमेकीको उपस्थितिमा दिसापिसाब खुवाउन तम्सिए ।  प्रहरीले उनलाई जाेगाए । भन्छिन्, ‘नयाँ जिन्दगी पाएकी छु ।’ दुखनीका जेठाजुकी गर्भवती बुहारीकाे मृत्यु भएपछि भतिजले उनीमाथि बाेक्सी आराेप लगाएका थिए ।

दुखनी मात्र हाेइन उनकी बुहारीलाई पनि बाेक्सी आराेप लगाइयाे । ´त्यो घटनाले मानसिक पीडा भयाे । दुई वर्षसम्म समस्या भयाे,’ उनी भन्छिन् । 

अहिले उनको जीवन सामान्य छ । सानाेतिनाे व्यापार पनि गरिरहेकी छन् । अधिकारकर्मी अनिता देवकोटा सासुबुहारीलाई बोक्सीको आरोप लगाई दिसापिसाब खुवाउन लागेको जानकारी पाएर प्रहरीको सहयोगमा उद्धार गरिएकाे बताउँछिन् । 

जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७६/०७७ मा ६, ०७७/०७८ मा दुई र चालू आर्थिक वर्षमा ६ जना पीडितको उजुरी परेको छ ।

सप्तरी प्रहरीका प्रवक्ता माधवप्रसाद काफ्लेले बोक्सीको आरोपमा पीडित भएको उजुरी कम आउने गरेको बताए । -न्युज कारखाना

Comments

सम्बन्धित खवर