•  ३ आश्विन २०८१, बिहीबार
  •  10:53:40 PM

प्रदेश स्वास्थ्य तालिम केन्द्र हटाइएकोमा जनस्वास्थ्य संघको आपत्ती

- फाल्गुन ९, २०७८ मा प्रकाशित



इटहरी । प्रदेशको स्वास्थ्य क्षेत्रको अभिन्न अंग प्रदेश स्वास्थ्य तालिम केन्द्र हटाइएको भन्दै नेपाल जनस्वास्य संघ प्रदेश समितिले असन्तुष्टि जनाएको छ ।

संघले आज प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईसमक्ष ज्ञापनपत्र पेश गर्दै मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट जारी भएको स्वास्थ्य मन्त्रालयको दरबन्दी तेरिजमा तालिम केन्द्र हटाइएको भन्दै आफूहरुको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

ज्ञापन पत्रमा प्रदेश स्वास्थ्य तालिम केन्द्रले प्रदेश भरीका स्वास्थ्यकर्मीहरुको विभिन्न विषयमा विशेषज्ञ तालिमहरु कोरोनाको उपचारको लागि सघन उपचार सम्बन्धी बाल रोग विशेषज्ञ तथा नर्सहरुलाई तालिम, आइसोलेसनमा कार्यरत स्वास्थ्यकर्मीलाई तालिम, आमा सुरक्षा कार्यक्रमको सफल कार्यान्वयनका लागि ६० दिने दक्ष प्रसूती सम्बन्धी तालिम गराउँदै आएको उल्लेख गरेको छ । यस्तै विभिन्न रोगको महामारीमा महत्वपूर्ण भूमिका निर्वाह गरेको तालिम केन्द्र हटाउने निर्णयले स्वास्थ्यकर्मीलाई नैराश्यता बढाउने ज्ञापन पत्रमा उल्लेख छ ।

‘स्वास्थ्य क्षेत्रमाथिको हस्तक्षेप तथा स्वास्थ्य संस्थाहरुलाई खारेज गर्ने, छुटाउने, स्वास्थ्यका विज्ञहरुसँग सल्लाह नगरी हचुवाको भरमा स्वास्थ्यको दरबन्दी तेरिज बनाउने कार्यप्रति आपत्ती जनाउँदै तत्काल प्रदेश स्वास्थ्य तालिम केन्द्रको पुनःस्थापना गर्न जोडदार माग गर्दछौं,’ ज्ञापन पत्रमा भनिएको छ ।

मुख्यमन्त्री कार्यालयमा नेपाल जनस्वास्थ्य संघका प्रदेश अध्यक्ष अनितकुमार देवसहितको टोली पुगेको हो । सो टोलीले बर्डफ्लु, डेंगु, कालाजार, दादुरा र हाल विश्वव्यापी रुपमा देखिएको कोरोना महामारीसँग स्वास्थ्यकर्मीहरु ज्यानको बाजी लगाउँदै जनताको स्वास्थ्य र जीवन रक्षाका लागि सेवा प्रदान गर्दै आइरहेको मुख्यमन्त्रीलाई जानकारी गराएको छ ।

Comments

सम्बन्धित खवर