•  ३ आश्विन २०८१, बिहीबार
  •  2:58:56 AM

संविधान दिवसको भाषणमा पनि बालेनविरुद्ध ओली कटाक्ष: ‘…आगो लगाउँछु भन्नेहरूबाट बचाउनुहोला’

- आश्विन ३, २०८१ मा प्रकाशित



काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवसको भाषणमा पनि काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) विरुद्ध कटाक्ष गरेका छन्। संविधान दिवसका अवसरमा बिहीबार बिहान प्रधानमन्त्री ओलीले दिएको लिखित भाषणमा युवालाई सचेत गराउँदै ‘आगो लगाउँछु’ भन्नेहरूबाट आफूलाई बचाउन आग्रह गरेका हुन्।

गत वर्षको भदौमा शाहले केन्द्रीय सरकारको प्रशासनिक केन्द्र सिंहदरबारमा आगो लगाउँछु भनेर लेखेका थिए।पत्नी सविना काफ्ले सवार सरकारी गाडीलाई कोटेश्वरमा ट्राफिक प्रहरीले रोकेर चेकजाँच गरेको रिसमा उनले २०८० भदौ १६ गते शनिबार राति लेखेका थिए, ‘आजको लागि केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु। याद राख चोर सरकार।’जसको व्यापक आलोचना भएपछि उनले सो पोस्ट हटाएका थिए।

सोही कुरालाई इंगित गर्दै ओलीले संविधान दिवसको भाषणमा भनेका छन्, ‘आज म खासगरी युवा पुस्तालाई सचेत गराउन चाहन्छु, तपाईंहरूभित्र केही गरौँ भन्ने जुन आगो बलिरहेको छ, त्यसलाई समाजमा आगो लगाउँछु भन्नेहरूबाट बचाउनुहोला। तपाईंहरूमा केही गरौँ भन्ने जुन हुटहुटी छ, त्यसलाई समाजमा हुलमुल गराउन खोज्नेहरूबाट जोगाउनु होला। समाजमा थिति बस्यो, समाज सभ्य भयो, अशिष्टहरूले मिच्न पाएनन् भने विकास त हामी गछौँ, गछौँ। सुशासन कायम त हामी गर्छौं, गर्छौं। तर, याद गरौँ, देश भाँडियो भने, अशिष्टहरूले अराजकता मच्चाउन अलिकति मात्र मौका पाए भने हामी पुस्तौँपुस्ता पछि पर्नेछौँ।’

Comments

सम्बन्धित खवर