•  ४ आश्विन २०८१, शुक्रबार
  •  4:27:27 PM

बिदेशी पर्यटक आगमनलाई सहज बनाउन सरोकारवालाको जोड

- आश्विन ४, २०८१ मा प्रकाशित



काँकरभिट्टा।  नेपालको पर्यटन क्षेत्रको प्रवर्द्धन र विकासका लागि भारतलगायत एसियाली मुलुकका पर्यटक आगमन सहज बनाउनु पर्नेमा सरोकारवालाले जोड दिएका छ्न् ।

पर्यटन कार्यालय काँकरभिट्टाद्वारा क्रस बोर्डर टुरिजम तथा वल्ड टुरिजम डे–२०२४ को सन्दर्भमा मित्रराष्ट्र भारत र नेपालका पर्यटन ब्यवसाय सम्बद्ध निकायहरु बीच अन्तरक्रिया कार्यक्रममा उनीहरुले त्यस्तो जोड दिएका हुन् ।

बिदेशी नागरिकलाई नेपालको पर्यटकीय क्षेत्रमा आकर्षण गर्न सवारी चालकलाई तालिम दिनुपर्ने, पर्यटकीय क्षेत्रमा सडक र आसपासका दृश्यलाई मनोरम बनाउनुपर्ने, स्थानीय तहले लिने गरेको पटके करमा छुट दिनुपर्ने, प्रहरीले गर्ने चेकिङलाई ब्यवस्थापन गर्नुपर्ने, उपयुक्त सुरक्षाको ग्यारेन्टी हुनुपर्ने, नेपाल–भारतमा रहेका प्रशिद्ध शहर, धार्मिकस्थल तथा पर्यटकीय क्षेत्रसँग भगिनी सम्बन्ध राख्नु पर्नेलगायत बिषयमाथि सरोकारवालाले जोड दिएका थिए ।

नेपालको पर्यटकीय क्षेत्रमा पाइने पर्यावरण, लोपोन्मुख बन्यजन्तु, कृषि उपज, भौगोलिक अवस्था, संस्कृति, हावापानी, मौसम र त्यस क्षेत्रमा पाइने छुट्टै बिबिधतालाई थप सुधार गर्न सरकारीस्तरबाटै प्रभावकारी कदम चाल्नुपर्ने उनीहरुले सुझाव दिए । उनीहरुले ग्रामीण पर्यटन विकासमा सरकार चिन्तित नदेखिएकाले ग्रामीण उत्पादनलाई प्रोत्साहन गर्न नसकिएको समेत औंल्याए ।

कार्यक्रमका प्रमुख अतिथि एबम् भारतका पूर्वप्रशिद्व फुटबलर एबम् टुरिजम क्षेत्रका अगुवा भाइचन भुटियाले टुरिजम क्षेत्रको विकासका लागि आफ्नै क्षेत्र वरिपरिको ससाना बिषयमा ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।

कोशी प्रदेश पर्यटन बन तथा वातावरण मन्त्रालयका सचिब विशाल घिमिरेले पर्यटन विकासमा प्रदेश सरकारले योजनासहित बजेट लगानीमा सहयोग गर्ने बताए । उनले स्थानीय पर्यटन क्षेत्रको बिबिधता एबम् उपयुक्त पहिचान र सम्भाबित योजनामा तीब्रता दिनेसमेत बताए । पर्यटन अभियन्ता राज बसूले पर्यटन प्रवद्र्धनका लागि जनस्तरबाटै पर्यटनमैत्री हुनुपर्नेमा जोड दिए । भारत नेपाल सांस्कृतिक खानपान, लवाइखवाइ, जीवनशैली बोकेका शहरमा सम्भावना खोज्ने र नेपालको राम जानकी, गौतम बुद्ध, कोलकाताको काली मन्दिर र ताप्लेजुङको पाथीभरालाई भगिनी सम्बन्ध गाँस्न सकिने बताए ।

त्यस अवसरमा बिदेशी पर्यटक आगमनमा सहज बनाउन झापाको चारआलीमा शाखा स्थापना गरेर सवारीमा स्टिकर टाँस्ने कार्यक्रम रहेको जानकारी दिए । क्रस बोर्डर टुरिजमलाई प्रभाबकारी बनाउन छुट्टै योजना अवधारणा ल्याउनेसमेत सचिव घिमिरेको भनाइ थियो । पर्यटन कार्यालय काँकरभिट्टाकाका प्रमुख छबिलाल खतिवडाले क्रस बोर्डर टुरिजम तथा वल्ड टुरिजम डे–२०२४को अवधारणापत्रसहित स्वागत गरेको कार्यक्रममा इलाम नगरपालिकाका प्रमुख केदार थापाले जैविक विविधताको दृष्टिकोणले पर्यटन प्रवद्र्धनको धर्मसंस्कृति, जातीय बिबिधता महत्व, टुरिजम प्रमोशनको सम्भावना रहेको बताए । उनले रेडपाण्डा जोनको रुपमा इलामलाई बिकास गर्ने योजना कार्ययोजना बनाएको उल्लेख गरे ।

सू्र्र्योदय नगरपालिकाका मेयर दलबा राईले नगरपालिकाबाट तीन सय ५१ अवलोकन भ्रमण गर्न आएको उल्लेख गर्दै पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा कमी र भुक्तानीलाई डिजिटल ब्यवस्थापन हुन आवश्यक भएको औंल्याए ।

कार्यक्रममा नाटाको सचिव पुण्य भट्टराई, यातायात ब्यवसायी राजेन्द्र रिजाल, होम–स्टे केन्द्रिय उपाध्यक्ष एकराज घिमिरे, मेची उद्योग वाणिज्य संघका अध्यक्ष खेम प्रसाईं, सागर शिवाकोटी, मेचीनगर–४ का वडाध्यक्ष अर्जुन कार्कीलगायतले बोलेका थिए । कार्यक्रममा पर्यटन कार्यालयका सूचना अधिकारी निरज कट्टेलले सम्भाबित पर्यटन क्षेत्रको सुझाब, प्रभाव र प्रस्तावको बिषयमा भिडियो सामग्री प्रस्तुत गरेका थिए ।

Comments

सम्बन्धित खवर