•  ३ आश्विन २०८१, बिहीबार
  •  10:02:08 PM

संसदको अवरोध खुलाउन सभामुखको दलहरुसँग छलफल

- भाद्र ३०, २०८१ मा प्रकाशित



काठमाडौं । प्रतिनिधि सभाको अवरोध हटाउने विषयमा सभामुख देवराज घिमिरे र राष्ट्रिय दलका प्रमुख सचेतक र सचेतकहरूबीच छलफल सुरू भएको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा छलफल जारी छ । छलफलमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक÷सचेतकहरू छन् ।

सभामुख घिमिरेले भदौ २६ गतेको बैठकमा एमाले सांसद योगेश भट्टराईले प्रतिनिधि सभा बैठकमा प्रयोग गरेको ‘हिंसा’ शब्द असंसदीय नभएको रूलिङ गरेका थिए । सांसद भट्टराईले संसदमा बोल्ने क्रममा हिंसा प्रयोग गरेको भन्दै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले नियमापत्ति गरेका थिए । सभामुखले त्यसकै निर्णय सुनाउँदै हिंसा असंसदीय नरहेको बताएका हुन् । माओवादी केन्द्रका सांसदहरूले त्यसको प्रतिवाद गरेका थिए ।

माओवादी केन्द्रका सांसदले संसद सञ्चालनमा अवरोध पु¥याएपछि बैठक स्थगित भएको थियो । सभामुखले त्यसबारे  छलफल गर्न आज बैठक बोलाएका थिए । गत भदौ २५ गते माओवादी केन्द्रका प्रमुख सचेतक पाण्डेले दलको नियमापत्तिको निर्णय सुनाउन अन्तिम अल्टिमेटम दिएअनुसार रुलिङ गरेको सभामुख घिमिरेले बताएका छन् ।

‘सभामुखले कतिपय विषयहरू राजनीतिक प्रकृतिका हुने भएकाले समय लिएरै निर्णय गरौं भन्दा पनि रोकिने अवस्था रहेन । २६ गते बिहान पनि प्रमुख सचेतक पाण्डेले निर्णय सुनाउन भनेपछि अन्तिम अवस्थामा सभामुख निर्णय सुनाउने अवस्थामा पुग्नु भएको थियो । सभामुखले निर्णय लिन प्रतिनिधि सभा नियमावलीको नियम २१ र २६ हेर्नु भएको छ । नियमावलीले ‘उठाइएको नियमापत्तिको निर्णय सभामुखले गर्नेछ र सो निर्णय अन्तिम हुनेछ’ भन्ने उल्लेख भएको र निर्णय नै नमान्ने विपक्षी दलको अडानले अन्यौल सिर्जना गरेको छ,’ सभामुखको सचिवालयले भन्यो ।

सभामुख घिमिरे ‘हिंसा’ शब्दबारे दलहरूलाई साझा धारणा बनाउन, सुझाव दिन र निर्क्यौल गर्न गत भदौ १८ गते कार्यव्यवस्था परामर्श समिति बैठकमा छलफल गरेको उनको सचिवालयले बताएको छ । ‘त्यहाँ पनि सत्ता पक्ष र विपक्षको आ–आफ्ना अडान रह्यो ।  बरू सभामुखले सुझाव नै लिनु नपर्ने विषयमा किन सुझाव लिनु भएको, सभामुखीय अधिकार प्रयोग गर्न कतिपय सांसदको सुझाव थियो,’ सभामुखको सचिवालयले जानकारी दिएको छ ।

Comments

सम्बन्धित खवर