•  ३ आश्विन २०८१, बिहीबार
  •  9:55:06 PM

निजीक्षेत्रको सहभागितामा मात्र कृषि व्यावसायिकता बढ्नेमा जोड सरकारको समन्वय, लगानी सुनिश्चिताको माग

- भाद्र २९, २०८१ मा प्रकाशित



विराटनगर । कोशीप्रदेशमा कृषिको व्यवसायिकताका लागि निजीक्षेत्रको लगानी प्रवद्र्धन र सरकारी सहयोगमा जोड दिइएको छ । नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा मोरङको कटहरी कृषि थोक बजारमा भइरहेको एक्स्पको गरिएको कृषि अन्तर संवादका सहभागीले सरकारी समन्वयमा व्यवसायिकताको कम अघि बढ्नु पर्ने बताए ।

कोसी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले कृषिको व्यावसायीकरण लामो समयदेखि चल्ने गरी पनि उपलब्धी भने आयातमुखी अवस्थामा रहेको बताए । मन्त्री मगरले सानासाना जमिनमा कृषिबाली लगाउने किसानले उत्पादन गरेको बस्तुलाई ठूला कृषि उद्योग संचालन गरी प्रशोधन गरी निर्यात गर्न सकिने बताए । “निजी क्षेत्रले चिया उद्योग खोलेजस्तै अन्य आयमुलक उत्पादन निर्यात गर्ने उद्देश्यसहित लगानी बढाउनु पर्छ । यसका लागि सरकारले गर्ने सहयोग हुन्छ,” मगरले भने,“साना किसानकै मोडल उपयुक्त हुन्छ किनभने उद्योगीले धेरै जग्गा खरिद गरेर कृषिजन्य उद्यम संचालन गर्न कठिन छ । किसानले उत्पादन गर्ने र उद्योगले खरिद गर्ने तरिका नै उचित हो ।”

नेपाल बहुउद्देश्यीय सहकारी संस्था झापाका अध्यक्ष रामचन्द्र उप्रेतीले निर्वाहमुखी कृषिबाट अलि माथि उठेर उत्पादन बढाउनुको विकल्प नभएको सुनाए । “पहिले धेरै किसान हुुनुहुन्थ्यो, उत्पादक थियौं तर अहिले सहर केन्द्रीत बसाईं बढ्न थालेपछि धेरै उपभोक्ता थपिनु भएको छ । उपभोक्ताले चाहेको र मौसमी उत्पादनलाई गुणस्तर कायम गरियो भने प्रतिफल प्राप्त हुन्छ ।” उनले बजार र सप्लाई चेन मिलाउने प्रबन्ध सरकारले गर्नुपर्ने सुझाव दिए । दुग्धजन्य बस्तु, तरकारी, मासु र माछा उत्पादनलाई केन्द्रीत गरी कोसी प्रदेशमा प्रशस्तै उत्पादन बढाउनले र लाभ लिने ठाउँ रहेको उप्रेतीको भनाइ थियो ।

तरकारी उत्पादन सहकारी संस्था चितवनका संचालक खोजराज कटुवालले कोसी प्रदेश कृषि उपज धेरै निर्यात गर्ने प्रदेश भएको बताउँदै कृषिको आधुनीकीकरणका निम्ति कृषि औजार तथा प्रविधि प्रयोग बढाउनु पर्ने सुझाव दिए । उनले भने,“इजराइलमा मल्चीङ र थोपा सिंचाई प्रणाली विकास भएको ५५ वर्षपछि हामी बल्ल प्रयोगको शुरुवाती चरणमा छौं । अब आधुनिक ढंगले अघि नबढी सुखै छैन् ।”

मोरङको आरजू राईस मिलका विज्ञ डा. विवेकानन्द झाले आफूहरुले बजारमा माग रहेको धान उत्पादन गर्ने किसानको आम्दानी बढाउन समर्थन मूल्य तोक्ने, उत्पादन र कटानमा समेत सहयोग गर्दै आएको बताए । उनले भने,“बजारको माग बुझेर उत्पादनमा जोड दिने हो भने धान किसानले प्रशस्तै फाइदा लिन सक्नुहुन्छ तर माग एउटा छ उत्पादन अर्को गर्यो भने त्यसबाट प्रतिफल प्राप्त हुँदैन ।” उनले स्थानीय तहका कृषि शाखाहरुले किसानलाई अधिक सेवा दिन जरुरी रहेको सुझाव दिए ।

तरकारी उत्पादा सहकारी धनकुटाका संचालक मेगेन्द्र गुरुङले अहिले कोसी प्रदेशबाट ठूलो परिमाणमा बन्दाकोबी सहितका तरकारी भारतीय बजार निर्यात हुने गरेको दृष्टान्त पेश गर्दै यसको परिमाण बढाउन संघीय र प्रदेश सरकारले भूमिका खेल्नुपर्ने बताए । भने,“नीतिगत र कानुन जटिलता तथा भारतसँगको समन्वयको अभावमा अहिले पनि नमूना परीक्षण गर्न कलकत्ता पठाउनु पर्ने बाध्यता छ । सहज ढंगको परीक्षणको व्यवस्था भए कोसीमा उत्पादित तरकारीजन्य कृषि उपज भारतका धेरै बजारसम्म पुर्याउन सकिन्छ ।” गुरुङले बीउबीजन र मलखाधको सहज उपलब्धता तथा किसानलाई प्राविधिक ज्ञानसीपको प्रबन्ध सरकारबाट हुनपर्ने सुझाव दिए । उनले बजारीकरणका लागि मन्डी तथा कृषि थोक केन्द्र निर्माणमा समेत सरकारले गतिशील भएर काम गर्नुपर्ने बताए ।

इलामकी महिला उद्यमी लीलादेवी भट्टराईले सहकारीमार्फत महिला जोडिएर गरिएका कृषि उद्यमको प्रवद्र्धनमा सरकारले अधिक चासो दिनुपर्ने बताइन । कार्यक्रममा धानविज्ञ राजेन्द्र उप्रेतीले सहजीकरण गरेका थिए । कृषि एक्सपो आइतबारसम्म चल्नेछ । एक्स्पोमा कृषि विज्ञ, किसान, उद्यमी र लगानीकर्ता समेत राखेर शुक्रबारबाट कृषि अन्तरसंवाद शुरु गरिएको हो ।

Comments

सम्बन्धित खवर