•  ३ आश्विन २०८१, बिहीबार
  •  3:47:46 AM

बागलुङ दुर्घटना : पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष बुढासहित तीनको मृत्यु

- भाद्र २८, २०८१ मा प्रकाशित



बागलुङ । बागलुङ दुर्घटनामा मृत्यु हुने महिलाको शव पहिचान भएको छ । दुर्घटनामा पूर्वी रुकुमको पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष भूपेन्द्रा बुढासहित तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनास्थलमा बुढाको परिचयपत्र समेत भेटिएको छ । पुथा उत्तरगंगा गाउँपालिका–१२ घर भएकी ३३ वर्षीय बुढाको दुर्घटनामा मृत्यु भएको पुष्टि भए पनि अरु दुई जनाको पहिचान हुन बाँकी रहेको बागलुङ प्रहरी प्रवक्ता डीएसपी विजय यादवले जानकारी दिए ।

रा १ झ २०० नम्बरको सरकारी गाडी आज बिहान पौने ९ बजेतिर बागलुङको गलकोट नगरपालिका–२ भुङखानीमा दुर्घटना भएको थियो । उक्त गाडीमा पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढा र केही कर्मचारीहरु सवार थिए । उक्त गाडीमा गाउँपालिकाका कर्मचारीहरु पनि थिए । तर कोको थिए भन्ने खुलिसकेको छैन ।

रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) माधव शर्माका अनुसार गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढा एक÷डेढ हप्ताअघि काठमाडौं आएकी थिइन् । काठमाडौंबाट फर्किने क्रममा उनी सवार गाडी बागलुङमा दुर्घटना भएको जानकारी पाएको प्रजिअ शर्माले बताए ।

रा १ झ २०० नम्बरको सरकारी गाडी आज बिहान पौने ९ बजेतिर सडकबाट करिब ३ सय मिटर तल भिरमा खसेको थियो । दुर्घटनाको जानकारी पाएलगत्तै नरेठाँटी चौकीबाट प्रहरी टोली खटिएको थियो । अप्ठेरो भिरमा गाडी दुर्घटना भएकाले उद्धारमा कठिनाइ भएको थियो । त्यसपछि नेपाली सेना र सशस्त्र प्रहरीको टोली पनि खटाइएको थियो ।

Comments

सम्बन्धित खवर