ट्रङ्कलाइन र डेडिकेटेडको समस्या चाँडै समाधान हुन्छ : ऊर्जामन्त्री खड्का
- भाद्र २५, २०८१ मा प्रकाशित
संखुवासभा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले अपर अरुणको काम चाँडो सुरु हुने बताएका छन् । नेपाल प्रेस युनियन संखुवासभाद्वारा आज खाँदबारीमा आयोजित पत्रकार सम्मेलनमा उनले स्रोत सुनिश्चित गरी अपर अरुणको काम चाँडो सुरु गरिने जानकारी दिए । ‘गरिब र विपन्न परिवारका लागि सरकारले सस्तो ब्याजमा ऋणको व्यवस्था गरेर आयोजनामा स्थानीय सहभागिता गराउनका लागि मैले पहल गरिरहेको छु’, उनले भने ।
संखुवासभाका प्रत्येक घरले पाँच लाखको शेयरको सुनिश्चितता हुनुपर्छ भनेर आफू लागिरहेको उनको भनाइ छ । उनले गरिब तथा विपन्न जनतालाई शेयर दिने उक्त ढाँचा देशभर स्थापित गर्नेगरी लागिने स्पष्ट पारे । मन्त्री खड्काले समृद्ध संखुवासभा निर्माणका लागि यहाँभित्रका जलस्रोतको अधिकतम् उपयोग गर्नुपर्ने उल्लेख गरे । उनले जिल्लाभित्र आयोजना निर्माणका क्रममा देखिएका समस्या समाधानमा सरकारले काम गरिरहेको बताए । उनले कोशी करिडोरमा राष्ट्रिय प्रसारण लाइन निर्माणका क्रममा देखिएको ढिलाइलाई सम्बोधन गर्न सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग छलफल भइरहेको उल्लेख गरे ।
ऊर्जामन्त्री खड्काले भने, ‘निजी क्षेत्रलाई साथमा लिएर मुलुकको ऊर्जा क्षेत्रको विकासमा लागिने छ, सरकारले १० वर्षमा २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेका छ, उक्त लक्ष्य पूरा सरकार कटिबद्ध भएर लागिरहेको छ, समृद्ध मुलुक निर्माणका लागि आन्तरिक खपत बढाउँदै बाँकी रहेको विद्युत् विदेशमा निर्यात गरिने छ ।’
उनले आर्थिक रूपमा विपन्न परिवारलाई मूलधारमा ल्याउन सके मात्र हामीले खोजेको समृद्धि हासिल गर्न सकिने बताए । उनले भने, ‘मुलुकको आर्थिक क्षेत्रको भरपर्दो माध्याम ऊर्जा क्षेत्र हो, यसको विकासका लागि अल्पकालीन र दीर्घकालीन योजना बनाएर सरकारले काम गर्नेछ ।’
ऊर्जामन्त्री खड्काले सिँचाइसँगै विद्युत् उत्पादनलाई अगाडि बढाइएको जनाउँदै सरकारी अस्पताल, विद्यालय, खानेपानी, सिँचाइको क्षेत्रमा विद्युत् सहुलियत दिनसके जनतालाई सहयोग पुग्ने बताए । ‘जलविद्युत् आयोजनाबाट उत्पादित विद्युतलाई बिक्री गर्दा खोलानाला बेचियो भन्ने गलत भाष्य सिर्जना गरिएको छ, यसलाई चिर्नु जरुरी छ’, उनले भने ।
मन्त्री खड्काले छिटो–छरितो कार्यसम्पादन गर्ने भन्ने प्रधानमन्त्रीको निर्देशन भएकाले मन्त्रालयले सोहीअनुरुप कार्यसम्पादन गरेको उल्लेख गरे । उनले ट्रङ्कलाइन र डेडिकेटेड विद्युतका क्षेत्रमा देखिएका समस्या समाधान गर्नका लागि लेखा समितिमै छलफल भएकाले यसको टुङ्गो चाँडो लाग्ने बताए । ‘व्यवसायीले प्रयोग गरेको बिजुलीको पैसा तिर्नुपर्छ’, उनले भने ।
सम्बन्धित खवर
-
ताजा आश्विन ३, २०८१संविधान दिवसको भाषणमा पनि बालेनविरुद्ध ओली कटाक्ष: ‘…आगो लगाउँछु भन्नेहरूबाट बचाउनुहोला’
-
ताजा आश्विन ३, २०८१वरिष्ठ साहित्यकार गिरिराज शर्माको अन्त्येष्टि
-
ताजा आश्विन ३, २०८१नौं वर्षपछि खुलेको धरहरा चढ्न सर्वसाधारणको भिड
-
ताजा आश्विन ३, २०८१राउटे समुदायका एक युवकको मृत्यु, जनसंख्या १३४ मा झर्यो
-
ताजा आश्विन ३, २०८१सुनको मूल्यमा लगातार गिरावट, आज थप घट्यो , चाँदी पनि सस्तियो
Comments