•  ३ आश्विन २०८१, बिहीबार
  •  3:51:42 AM

महिलाको अगुवाइमा बन्यो एक करोड बढीको सामुदायिक भवन

- भाद्र २३, २०८१ मा प्रकाशित



म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाममा महिलाको अगुवाइमा एक करोड बढी खर्चेर सामुदायिक भवन निर्माण भएको छ । दग्नामको नाङ्गीदेवी आमा समूहले गाउँपालिका, प्रदेश सरकार र दाताको सहयोगका साथै नाचगान गरेर जुटाएको रकमबाट दुईतले सभाहलसहितको भवन निर्माण गरेका हुन् । उक्त समूहका अध्यक्ष मीनकुमारी गर्बुजाले सामुदायिक भवन निर्माणपछि भेला, बैठक, तालिम, गोष्ठी, छलफलका लागि व्यक्तिको घर, विद्यालयमा पुग्नुपर्ने समस्या हटेको बताइन् ।

‘गाउँमा दुई–चारजना भेला भएर छलफल गर्न कुनै व्यक्तिको आँगन र पिँढीमा बस्नुपर्दा समस्या भएको थियो’, उनले भनिन्, ‘भवन बनेपछि विवाह, किरिया, छेवार जस्ता संस्कारगत कार्य गर्न पनि सहज भएको छ ।’ मगर बाहुल्य दग्नामका करिब एक सय ५० परिवार सो भवनबाट लाभान्वित भएका छन् ।

भवन निर्माणका लागि गण्डकी प्रदेश सरकारले २० लाख, रघुगङ्गा गाउँपालिकाले ४५ लाख, रघुगङ्गा हाइड्रोपावरले रु पाँच लाख, सामाजिक विकास कार्यालयले ७५ हजार मूल्य बराबरको फर्निचर सहयोग गरेका छन् । आमा समूहले गाउँमा आउने पाहुनालाई स्वागतका लागि गर्ने नाचगान, चन्दा र आन्तरिक कोषको पाँच लाख १५ हजार पनि भवन निर्माणमा परिचालन गरेको भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष दुर्गा गर्बुजाले बताइन् ।

श्रमदानसहित भवन निर्माणमा एक करोडभन्दा बढी खर्च भएको अध्यक्ष गर्बुजाले बताइन् । भवन निर्माणका लागि स्थानीय दुर्गाबहादुर पुनले ५० हजारमा एक रोपनी जग्गा उपलब्ध गराएका थिए । सामुदायिक भवनलाई विपद् व्यवस्थापनका लागि पनि प्रयोग गर्न सकिने वडाध्यक्ष पविन गर्बुजाले बताए । शनिबार आयोजित एक कार्यक्रममा प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा (खम्बिर) ले उद्घाटन गरे । उद्घाटन कार्यक्रममा म्याग्दी बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारी, रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारी, उपाध्यक्ष प्रेमकुमारी पुनलगायत उपस्थित थिए ।

Comments

सम्बन्धित खवर