•  ३ आश्विन २०८१, बिहीबार
  •  10:09:18 PM

सरकारको नेतृत्वमा आएपछि पहिलोपल्ट आज एमाले पोलिट्ब्युरो बैठक बस्दै

- भाद्र १८, २०८१ मा प्रकाशित



इटहरी । सत्तारूढ नेकपा एमालेको पोलिट्ब्युरो बैठक आज (मंगलबार) बस्दैछ । दिउँसो १ बजे ललितपुर च्यासलस्थित केन्द्रीय कार्यालयमा पोलिट्ब्युरो बैठक बस्ने पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जानकारी दिएको छ ।

सरकारको नेतृत्व सम्हालेपछि पहिलो पटक बस्न लागेको एमाले पोलिट्ब्युरो वैठक बुधबारसम्म चल्ने छ । पोलिट्ब्युरोमा केन्द्रीय सचिवालयले तयार पारेको २०८४ सालसम्मको पार्टी कामको योजनाबारे विस्तृत छलफल हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन् ।

कार्ययोजनामा बाँकी रहेका जिल्ला अधिवेशन, पालिका र वडा तहका अधिवेशन, सदस्यता र संगठन विस्तार अभियान समेटिएको उनले जानकारी दिए । एमालेले बाँकी रहेका ११ वटा र एउटा विशेष जिल्ला अधिवेशन कात्तिक मसान्तभित्र गरिसक्न निर्देशन दिएको छ । त्यस्तै सदस्यता नवीकरण उत्साहजनक नभएको भन्दै यसलाई अभियानकै रूपमा लैजाने एमालेको तयारी छ । एमालेका साढे पाँच लाख सदस्यमध्ये ६० प्रतिशतले मात्रै नवीकरण गरेको जिल्लाहरूले रिपोर्ट दिएका छन् ।

त्यस्तै एमालेले २०८१ भरि संगठन शुद्धीकरण र सुदृढीकरण अभियान चलाउने निर्णय यसअघिकै केन्द्रीय कमिटीले निर्णय गरिसकेको छ । आजबाट सुरू हुने पोलिट्ब्युरोले २०८४ सम्मकै ठोस कार्ययोजना बनाउने एमालेले बताएको छ ।  त्यस्तै बैठकमा सरकारको एक महिने कामको समीक्षा, स्थानीय तहको उपनिर्वाचन, समसामयिक राजनीतिक विषयमा पनि छलफल हुनेछ ।

Comments

सम्बन्धित खवर