•  ३ आश्विन २०८१, बिहीबार
  •  9:40:00 PM

भारत पुर्‍याएर मृगौला तस्करीको आरोपमा शंकर र शान्तिमाया पक्राउ

- भाद्र १२, २०८१ मा प्रकाशित



काठमाडौं । भारतको कोलकाता पुर्‍याएर मानव अंग मिर्गौला तस्करी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका–८ का ३७ वर्षीय शंकर खत्री र मकवानपुरको भीमफेदी गाउँपालिका–२ की ४२ वर्षीया शान्तिमाया घलान छन् ।

पीडितको जाहेरीका आधारमा ब्युरोबाट खटिएको प्रहरी टोलीले बेचबिखनमा संलग्न रहेकामध्ये शंकर खत्रीलाई आइतबार र अर्की प्रतिवादी शान्ति माया घलानलाई आज पक्राउ गरिएको हो । उनीहरूमाथि मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट नौ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ ।

उनीहरूलाई नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले पक्राउ गरेको हो । उनीहरूको समूहले आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरूलाई मिर्गौला बिक्री गरे १० लाख रुपैयाँसम्म कमाउन सकिने बताउने गरेको पाइएको  छ । उनीहरूले मानिसको शरीरमा दुई मिर्गौला हुने भएकाले एउटा झिक्दा अर्कोले राम्रोसँग काम गर्ने भएकाले केही समस्या नहुने बताउने गरेको अनुसन्धानमा खुलेको व्यरोले जनाएको छ । अझ मिर्गौला दिएमा धर्म हुन्छ भन्ने समेतको प्रलोभन देखाउँथे ।

जाहेरवालाको स्वास्थ्य परीक्षण गराएर यकिन गरी काठमाडौंबाट वीरगञ्ज जाने सुमोमा चढाएर वीरगञ्जबाट भारतको कोलकाता पुर्‍याएका थिए । त्यसपछि जाहेरवालाले भारतमा पुगेपछि मिर्गौला प्रत्यारोपण गर्न इन्कार गरेका थिए । तर, उनलाई विभिन्न किसिमको धम्की दिएर जबरजस्ती मिर्गौला प्रत्यारोपण गराएको खुलेको ब्युरोले जनाएको छ ।

अनुसन्धानबाट मिर्गौला प्रत्यारोपण गर्नुपर्ने व्यक्तिको एकाघर परिवारभित्रको व्यक्ति भनेर विश्वास दिलाउन जाहेरवालाको नेपाली नागरिकताको प्रमाणपत्र समेतका कागजातहरू झुट्टा बनाएर मिर्गौला प्रत्यारोपण गरेको खुल्न आएको छ । प्रलोभनमा पार्ने, आन्तरिक ट्रान्सपोर्ट गर्ने, नेपालबाट भारतको कोलकाता पुर्‍याउने, रकम डि गर्ने कामहरू फरकफरक व्यक्तिहरूले गरेको खुलेको छ ।

Comments

सम्बन्धित खवर