•  ३ आश्विन २०८१, बिहीबार
  •  9:37:55 PM

यी हुन् नेकपा एसमा निर्वाचित चार उपाध्यक्ष, अरु को–को चुनिए ?

- भाद्र १२, २०८१ मा प्रकाशित



काठमाडौं । नेकपा एकीकृत समाजवादीको पदाधिकारीतर्फको मत गणना सकिएको छ । महिला उपाध्यक्षमा जयन्ती राई निर्वाचित भएकी छन् । त्यस्तै मधेसी क्लस्टरबाट धर्मनाथ साह निर्वाचित भएका छन् । राईसँग रामकुमारी झाँक्री प्रतिस्पर्धामा थिइन् । साहसँग रामचन्द्र झा प्रतिस्पर्धामा थिए ।

निर्वाचन समितिले दिएको जानकारीअनुसार खुला उपाध्यक्षमा गंगालाल तुलाधर, भानुभक्त जोशी, जगन्नाथ खतिवडा प्रकाश ज्वाला निर्वाचित भएका छन् । ज्वाला र जोशीबाहेक सबै अध्यक्ष माधवकुमार नेपाल पक्षका हुन् । उपाध्यक्षमा नेपाल पक्षका डा. गंगालाल तुलाधर १८९, जगन्नाथ खतिवडा १६१, प्रकाश ज्वाला १४५ र भानुभक्त जोशी १५६ मतले विजयी भएका छन् ।

उपमहासचिवमा खुलातर्फ गरिमा शाह, राजेन्द्र राई, रामकुमार भट्टराई, मेटमणि चौधरी निर्वाचित भएका छन् । आदिवासी जनजातिबाट सचिवमा बलदेव चौधरी र दलिततर्फ गणेश विश्वकर्मा निर्वाचित भएका छन् । खुला सचिवमा शेरबहादुर कुँवर, सोम पाण्डे, चन्द्रबहादुर शाही, सावित्रा भूसाल, श्रीनाथ बराल निर्वाचित भएका छन् ।

हिजो (मंगलबार) भएको निर्वाचनमा १७ पदका लागि ६७ जना प्रतिस्पर्धामा थिए । वरिष्ठ उपाध्यक्षमा भने राजेन्द्र पाण्डे निर्वाचित भएका छन् । उनीविरूद्ध घनेन्द्र बस्नेतले उमेदवारी दिएका थिए । बस्नेतले वरिष्ठ नेता बनाउने आश्वासन पाएपछि उमेदवारी फिर्ता लिएर पाण्डे सर्वसम्मत भए ।

गत असार १६ देखि २० गतेसम्म काठमाडौंस्थित प्रज्ञा भवनमा भएको दशौं महाधिवेशनबाट अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिवमा घनश्याम भूसाल सर्वसम्मत भएका थिए । बाँकी पदाधिकारी चयन हुन बाँकी थियो । पहिलो पूर्ण बैठकले चुनावमार्फत् पदाधिकारीको टुंगो लगाएको हो । एकीकृत समाजवादीले पोलिट्ब्युरो सदस्य पनि चुनावैबाट छानेको छ ।

Comments

सम्बन्धित खवर