•  ३ आश्विन २०८१, बिहीबार
  •  3:52:56 AM

प्रधानमन्त्री ओली अमेरिका जाने पक्का, थाइल्याण्ड अनिश्चित

- भाद्र ७, २०८१ मा प्रकाशित



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्र संघीय महासभाका लागि अमेरिकाको न्यूयोर्क जाने भएका छन् । राष्ट्रसंघको महासभा सेप्टेम्बर १० देखि २८ (२५ भदौदेखि १२ असोज) सम्म न्यूयोर्कमा हुनेछ । त्यस अन्तर्गत समिट अफ द फ्युचर २२–२३ सेप्टेम्बर (६–७ असोज) मा हुने तय भएको छ ।

समिट अफ द फ्युचरमा सम्बोधन गर्ने गरी प्रधानमन्त्रीको ओलीको न्यूयोर्क भ्रमणको तयारी सुरु भएको स्रोत बताउँछ । महासभामा भाग लिने प्रधानमन्त्री जाने पक्का भए पनि कहिले र को–को जाने भन्ने विषय छलफल हुनै बाँकी रहेको स्रोतले बताएको छ । ओलीले प्रधानमन्त्रीका रुपमा २०७५ असोजमा पनि राष्ट्रसंघ महासभालाई सम्बोधन गरेका थिए । पछिल्लो पटक ३० असारमा प्रधानमन्त्री भएका ओली विदेश भ्रमणमा गएका छैनन् ।

यसबीच प्रधानमन्त्रीले गर्ने भनिएको थाइल्याण्ड भ्रमण भने अनिश्चित भएको छ । प्रधानमन्त्री ओली सहभागी हुने तयारी गरिएको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) शिखर सम्मेलन निर्धारित मितिमा नहुने देखिएको छ । आयोजक राष्ट्र थाइल्याण्डको नयाँ सरकार गठन भइरहेको बिलम्बका कारण बिम्स्टेक सम्मेलन स्थगनको सम्भावना बढेको स्रोत बताउँछ ।

थाइल्याण्डमा काम चलाउ सरकार भएको स्थितिमा बिम्स्टेक शिखर सम्मेलन आयोजना गरिए आफू आउन नसक्ने जनाउ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिएपछि अर्काे हप्ता (१७–२१ भदौ तदनुसार २–६ सेप्टेम्बर) मा हुने भनिएको बिम्स्टेक शिखर सम्मेलन अहिलेकै अवस्थामा नहुने लगभग निश्चित जस्तो देखिएको छ । थाइल्याण्डका लागि भारतीय राजदूत नागेश सिंहले थाइल्यान्डमा काम चलाउ सरकारले नै बिम्स्टेक शिखर सम्मेलन आयोजना गरे त्यसमा प्रधानमन्त्री मोदी सहभागी नहुने जानकारी बिहीबार थाइ अधिकारीहरूलाई दिएका छन् ।

Comments

सम्बन्धित खवर