•  ४ आश्विन २०८१, शुक्रबार
  •  5:51:30 AM

दिल्लीमा देउवाको दौडधुप : ‘बाहरी सन्स’मा सपिङ, प्रधानमन्त्री मोदी र जयशंकरसँग ‘मुलाकात’

- भाद्र ४, २०८१ मा प्रकाशित



काठमाडौं :  परराष्ट्रमन्त्री आरजु राणा  देउवा यतिबेला भारतको औपचारिक ५  दिने भ्रमणमा छिन् । परराष्ट्रमन्त्रीको रुपमा देउवाको यो पहिलो विदेश भ्रमण हो ।

भारतका विदेशमन्त्री जयशंकरको निमन्त्रणामा दिल्ली गएकी राणाले आइतबार नयाँ दिल्लीको खान मार्केटमा रहेको चर्चित पुस्तक पसल ‘बाहरी सन्स’ पुगेर पुस्तक सपिङ गरेकी छिन् ।  खाना मर्केटमा रहेको  ‘बाहरी सन्स’ चर्चित पुस्तक पसल मानिन्छ । उनले आइतबार त्यही ‘बाहरी सन्स’ पुगेर पुस्तक किनेकी हुन् ।  परराष्ट्रमन्त्री राणाले नयाँ र पुराना पुस्तकहरू किनेको दूतावासका अधिकारीले जनाएका छन् । राणाकै आग्रह अनुसार दूतावासका अधिकारीहरुले पुस्तक पसलमा लगेका थिए ।

दिल्लीस्थित नेपाली दूतावासका अधिकारीहरुका अनुसार परराष्ट्रमन्त्री देउवाले आधा दर्जन नयाँ र पुराना पुस्तकहरू किनेकी छिन् । दूतावासका एक अधिकारीका अनुसार दिल्ली पुगेर केही बेर आरम गरेपछि उही चर्चित पुस्तक पसल ‘बाहरी सन्स’मा लैजान अनुरोध गरेकी थिइन् । नेपाली दूतावासका कार्यवाहक राजदूत सुरेन्द्र थापासँग पुस्तक पसल गएकी मन्त्री देउवाले पुस्तक छनोटमा निकै समय बिताएकी थिइन् ।

प्रधानमन्त्री मोदी र जयशंकरसँग ‘मुलाकात’

परराष्ट्रमन्त्री देउवाले सोमबार भारतीय विदेशमन्त्री एस जयशंकरसँगको भेटवार्ता गरेकी छिन् । भेटपछि उनले  नेपाल–भारत सम्बन्ध थप बलियो बन्ने अपेक्षा आफूले बताएकी छिन् । ‘भारतीय विदेशमन्त्री श्री एस जयशंकरसँग आज नयाँ दिल्लीमा भेटवार्ता भएको छ,’ भेटबारे जानकारी गराउँदै उनले फेसबुकमा लेखेकी छिन्, ‘भेटमा द्विपक्षीय हित, नेपाल भारत सम्बन्धका विविध पक्षका साथै आपसी सहयोग आदानप्रदानका विषयमा छलफल भयो। यस भ्रमणबाट सदियौँ पुरानो नेपाल भारत सम्बन्ध थप बलियो बन्ने अपेक्षा मैले गरेको छु।’

सोमबार नै परराष्ट्रमन्त्री देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेटवार्ता गरेकी छिन् । भेटवार्ताको क्रममा परराष्ट्रमन्त्री देउवाले प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएकी छन् । भारतको औपचारिक भ्रमणमा रहेकी राणाले मोदीसँगको सोमबार बेलुकी भएको शिष्टाचार भेटवार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको नेपाल भ्रमणको निमन्त्रणा हस्तान्तरण गरेकी हुन् ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालकी परराष्ट्रमन्त्री आरजु राणा देउवासँगलाई स्वागत गर्न पाउँदा आफूलाई खुसी लागेको बताएका छन् ।  सोमबार बेलुकी राणासँगको भेटपछि प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्समा ट्वीट गरेर भनेका छन्, ‘नेपालकी परराष्ट्रमन्त्री आरजु राणालाई स्वागत गर्न पाउँदा खुसी लाग्यो । भारत र नेपालले नजिकका सभ्यतामूलक सम्बन्धहरू साझा गरेका छन् र एक प्रगतिशील र बहुआयामिक साझेदारी कायम गरेका छन् । हाम्रो विकास साझेदारीमा निरन्तर गतिशीलता रहिरहोस् भन्ने आशा छ ।’

परराष्ट्रमन्त्री आरजुले पनि सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै आफू र मोदीले नेपाल–भारत सम्बन्धको बहुआयामिक विविधताबारे छलफल गरेको जानकारी दिएकी छन् । भनेकी छिन्, ‘भारतका प्रधानमन्त्री श्री नरेन्द्र मोदीज्यूसँग आज साँझ नयाँ दिल्लीमा शिष्टाचार भेट  गरेको छु । यस भेटवार्ताका क्रममा नेपाल भारत सम्बन्ध र यसको बहुआयामिक विविधताका विषयमा कुराकानी भयो । नेपालको परराष्ट्रमन्त्रीका रुपमा मेरो यो भ्रमण र उच्चस्तरीय भेटवार्ताबाट नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्ध थप उचाइमा पुग्ने अपेक्षा मैले गरेको छु ।’

शिष्टाचार भेटमा नेपालको तर्फबाट परराष्ट्रमन्त्री राणासहित भारतका लागि नेपालका कार्यवाहाक राजदूत सुरेन्द्र थापा, परराष्ट्र मन्त्रालयका दक्षिण एसिया महाशाखाका प्रमुख भृगु ढुंगाना र मिनिष्टर काउन्सिलर द्रौपदा सापकोटा थिइन् ।

भारतको तर्फबाट उक्त शिष्टाचार भेटमा भारतको तर्फबाट मोदीसहित, विदेशमन्त्री एस। जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोवल, विदेश सचिव विक्रम मिस्री र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव थिए ।

के भन्छ भारतीय विदेश मन्त्रालय ?

भारतीय विदेश मन्त्रालयले प्रधानमन्त्री नरेन्द्र मोदी र परराष्ट्रमन्त्री आरजु राणा देउवाबीच भेटवार्तामा आपसी हितका विविध क्षेत्रमा भारत–नेपाल सहकार्यलाई थप सुदृढ बनाउनेबारे छलफल भएको जनाएको छ ।

विज्ञप्तिमा भनेको छ, ‘गहिरो ऐतिहासिक, सभ्यतागत, साँस्कृतिक र जनता–जनताबीचको सम्बन्ध रहेको भारत र नेपाल घनिष्ठ र हितैषी छिमेकीहरु हुन् । हालैका वर्षहरुमा भारतको सहयोगमा नेपालमा सञ्चालित परियोजनाहरुले गति हासिल गरेको छ जुन विशेष गरी पूर्वाधार, अन्तरदेशीय रेलमार्ग, सडक र पुलसँग सम्बन्धित अन्य परियोजना, एकीकृत जाँच चौकी, पेट्रोलियम पाइपलाइन र डिजिटल वित्तीय कनेक्टिभिटी लगायत कनेक्टिभिटीका क्षेत्र जस्तैं भौतिक, डिजिटल साथसाथै जनता–जनताबीचको सम्बन्धमा प्रकट भएको छ ।’

विदेश मन्त्रालयका अनुसार दुई मन्त्रीहरुबीच विभिन्न द्विपक्षीय पहल र विकास परियोजनाहरुमा भएको प्रगतिको समीक्षा गर्नुका साथै पारस्परिक लाभदायी सहकार्यका विद्यमान र नयाँ क्षेत्रमा थप सहयोगका अवसरहरुबारे पनि छलफल गरेका थिए । विज्ञप्तिमा भनिएको छ, ‘नेपालले अब करिब १००० मेगावाट विद्युत निर्यात गर्न सक्ने र यसले नेपालका लागि आम्दानी र भारतका लागि स्वच्छ ऊर्जाका थप स्रोतहरुको सिर्जना गर्नेबारे चर्चा गर्दै दुवै पक्षले ऊर्जा सहकार्यको क्षेत्रमा पारस्परिक लाभदायी साझेदारीमा भएको प्रगतिका बारे कुरा गरेका थिए । यस सम्बन्धमा दुवै परराष्ट्रमन्त्रीले दीर्घकालीन ऊर्जा व्यापार सम्झौताको कार्यान्वयनका कारण ऊर्जा सहकार्यको क्षेत्रमा उपलब्ध अभूतपूर्व अवसरहरु उपर छलफल गर्नुभयो ।’

भारतीय विदेश मन्त्रालय भन्छ, 

विदेश मन्त्रालय
उत्तरी महाशाखा

नेपालका माननीय परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाको भारत भ्रमण

भारतका विदेशमन्त्रीको निमन्त्रणामा नेपालका माननीय परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा मिति २०८१ भाद्र २–६ गतेसम्म भारतको औपचारिक भ्रमणमा हुनुहुन्छ । 

२. दुवै देशका परराष्ट्रमन्त्रीले भारत–नेपाल द्विपक्षीय साझेदारीका व्यापक पक्षलाई समेट्दैे मिति २०८१ भाद्र ३ गते द्विपक्षीय कुराकानी गर्नुपऱ्यो । वहाँहरुले विभिन्न द्विपक्षीय पहल र विकास परियोजनाहरुमा भएको प्रगतिको समीक्षा गर्नुका साथै पारस्परिक लाभदायी सहकार्यका विद्यमान र नयाँ क्षेत्रमा थप सहयोगका अवसरहरुबारे पनि छलफल गर्नुभयो ।

३. गहिरो ऐतिहासिक, सभ्यतागत, साँस्कृतिक र जनता–जनताबीचको सम्बन्ध रहेको भारत र नेपाल घनिष्ठ र हितैषी छिमेकीहरु हुन् । हालैका वर्षहरुमा भारतको सहयोगमा नेपालमा सञ्चालित परियोजनाहरुले गति हासिल गरेको छ जुन विशेष गरी पूर्वाधार, अन्तरदेशीय रेलमार्ग, सडक र पुलसँग सम्बन्धित अन्य परियोजना, एकीकृत जाँच चौकी, पेट्रोलियम पाइपलाइन र डिजिटल वित्तीय कनेक्टिभिटी लगायत कनेक्टिभिटीका क्षेत्र जस्तैं भौतिक, डिजिटल साथसाथै जनता–जनताबीचको सम्बन्धमा प्रकट भएको छ ।

४. नेपालले अब करिब १००० मेगावाट विद्युत निर्यात गर्न सक्ने र यसले नेपालका लागि आम्दानी र भारतका लागि स्वच्छ ऊर्जाका थप स्रोतहरुको सिर्जना गर्नेबारे चर्चा गर्दै दुवै पक्षले ऊर्जा सहकार्यको क्षेत्रमा पारस्परिक लाभदायी साझेदारीमा भएको प्रगतिका बारे कुरा गरेका थिए । यस सम्बन्धमा दुवै परराष्ट्रमन्त्रीले दीर्घकालीन ऊर्जा व्यापार सम्झौताको कार्यान्वयनका कारण ऊर्जा सहकार्यको क्षेत्रमा उपलब्ध अभूतपूर्व अवसरहरु उपर छलफल गर्नुभयो ।

५. नेपाल र भारतबीच सहकार्यको अर्को क्षेत्रका रुपमा खेलकुद उदाइरहेको उल्लेख गर्दै नेपाली क्रिकेट टोलीका लागि हालै बैंगलोरस्थित नेशनल क्रिकेट एकेडेमीमा व्यवस्था गरिएको प्रशिक्षण कार्यक्रमको पनि सराहना गरियो ।

६. भ्रमणका क्रममा नेपालका परराष्ट्रमन्त्रीले प्रधानमन्त्रीसँग शिष्टाचार भेटवार्ता गर्नुभयो । उक्त भेटमा आपसी हितका विविध क्षेत्रमा भारत–नेपाल सहकार्यलाई थप सुदृढ बनाउने तरिकाबारे छलफल भएको थियो ।

७. छिमेकी पहिलो नीति अन्तर्गत नेपाल भारतको प्राथमिकतामा पर्ने साझेदार हो । परराष्ट्रमन्त्रीको भ्रमण दुई देशबीचको नियमित उच्चस्तरीय आदानप्रदानको परम्परा अनुरुप रहेको छ । भ्रमणले हाम्रा द्विपक्षीय सम्बन्धलाई अझ अघि बढाउन सहकार्यका नयाँ क्षेत्रहरुबारे छलफल र पहिचान गर्ने अवसर पनि प्रदान गरेको छ ।

Comments

सम्बन्धित खवर