•  ४ आश्विन २०८१, शुक्रबार
  •  6:55:46 AM

काेशी प्रदेश : मुख्यमन्त्री कार्कीले सार्वजनिक गरे १०० दिनकाे उपलब्धी

- भाद्र २, २०८१ मा प्रकाशित



इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफू नियुक्त भएको १ सय दिनको उपलब्धी सार्वजनिक गरेका छन् । विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा विशेष कार्यक्रम गरी उनले आफूले गरेका ६० काम सार्वजनिक गरेका हुन् ।

प्रदेश सरकारले काम गरेन भन्ने गलत प्रचारलाई हटाउन पहिले सुरु भएर आफ्नो कार्यकालमा सम्पन्न भएका योजनाहरुलाई पनि समावेश गरेर सय दिनका उपलब्धि सार्वजनिक गरेको उनले बताए । प्रदेशमा आगामी वर्ष २०८१ लाई प्रदेश पर्यटन वर्ष घोषणा गर्नेदेखि विराटनगरको बरगाछी चौकमा ट्राफिक लाइट जडान गरेको विषयलाई उपलब्धी मानिएको छ । मुख्यमन्त्री कार्की गत वैशाख २७ गते तेस्रो पटक मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

प्रदेश सरकारले गरेका कामहरू सही ढंगले जनतामाझ प्रचारप्रसार नभएकोले सयदिने उपलब्धि सार्वजनिक गर्नुपरेको उहाँले बताउनु भयो । केही महिनापछि कोशी प्रदेशमा विगत सात वर्षमा भएका विकास र प्रगति पनि सार्वजनिक गर्न लागेको उनको भनाइ छ ।

मुख्यमन्त्री कार्कीले सार्वजनिक गरेको एकसय दिने उपलब्धिमा तेह्रथुमको ओख्रे र सुनसरीको हरिपुरमा निर्माण भएको सडक उद्घाटन गरेको, कोशीलाई पूर्णखोप प्रदेश घोषणा गरेको र धनकुटाको भेडेटामा निर्माण भएको स्काईवाक उदघाटन गरेर सञ्चालनमा ल्याएको लगायत छन् । यसैगरी मुख्यमन्त्री कार्यालयमा प्रदेशबासीको गुनासो सुन्न हेल्लो सिएम कार्यक्रम सञ्चालनमा ल्याएको, विपदको सूचना दिन प्रदेश पोर्टल सञ्चालन गराएको, प्रदेशका पाँच पालिकामा उद्यमशिलता कार्यक्रम सञ्चालनमा ल्याएको र प्रदेशमा जडिबुटी प्रशोधन केन्द्र खोल्न अध्ययन कार्यदल गठन गराएको पनि उपलब्धिमा राखिएको छ ।

यस्तै संखुवासभा र चीनसँग जोड्ने किमाथांङका नाका खुला गराएको, पहाडका ६ जिल्लामा भेटनरी उपचार केन्द्र सञ्चालन गराएको र विपदमा परेकाहरुलाई राहत तथा उद्धारमा सहयोग गरेको कुरा पनि उपलब्धिमा समावेश छन् । यस्तै पाथिभरा, हलेंसी, वराहक्षेत्र धार्मिक क्षेत्र समिति अनि केचना कञ्चनजङ्गा पर्यटन समिति अनि संघीयता कार्यन्वयन र प्रदेश कानुन निर्माण कार्यदल गठन गराएको, चालु वर्षमै कोशी प्रदेशमा लगानी सम्मेलन गर्ने तयारी थालेकोलगायत उपब्धिहरु छन् । यस्तै प्रदेश सरकारले दोस्रो आवधिक योजना निर्माण गरेर कार्यान्वयन थालेको पनि उनले बताए ।

Comments

सम्बन्धित खवर