•  ४ आश्विन २०८१, शुक्रबार
  •  6:45:47 AM

मेचीनगरकी बिनादेवी डेढ वर्षदेखि ओमानको अस्पतालमा अचेत

- भाद्र २, २०८१ मा प्रकाशित



झापा । वैदेशिक रोजगारीका लागि छ वर्षअघि ओमान पुगेकी मेचीनगर नगरपालिका–१० की ४५ वर्षीया बिनादेवी कुवर डेढ वर्षदेखि त्यहीको एक अस्पतालमा अचेत अवस्थामा रहेकि छिन ।राजधानी मस्कटबाट एक हजार किलोमिटर टाढा सलाहस्थित सुल्तान काबुस अस्पतालमा उनी डेढ वर्षदेखि अचेत अवस्थामा रहेको छोरा सञ्जय कवरले बताए ।

“आमा ओमानको अस्पतालमा बेहोस अवस्थामा हुनुहुन्छ भनेर खबर पाएका छौँ”, छोरा सञ्जय कवरले भने “नेपाल ल्याउन रु १३ लाख खर्च लाग्छ रे । हामीले त्यत्रो पैसा कहाँबाट जुटाउनु ?” उनले आमालाई नेपाल ल्याउन सहयोगका लागि अपिल समेत गरेका छन ।

विपन्न परिवारकी विनादेवी कवर २०७५ सालमा भारतको बाटो भएर घरेलु कामदारका लागि ओमान पुगेकी थिइन ।  दुई वर्षअघि मधुमेह र उच्च रक्तचापका कारण पक्षाघातले थलिएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । हालसम्म उनी अचेत अवस्थामै रहेकाे ओमानस्थित नेपाली दूताबासका कर्मचारीहरूले जानकारी दिएका छन् ।

ओमानस्थित नेपाली दूतावासका कन्सुलर गोविन्दप्रसाद आचार्यले बिनादेवीको उपचार भइरहे पनि स्वास्थ्यमा सुधार हुन नसकेको जानकारी दिए । रिटर्नी फेडेरेसन नेपालका कोशी प्रदेश अध्यक्ष धर्मेन्द्र खड्काले भने “दूतावासका कन्सुलर गोविन्द्रप्रसाद आचार्यसँग भिडियोकलमा कुराकानी गर्दा उनले बिनादेवी दिदीको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको सुनाए ।

बिनादेवीलाई स्वदेश ल्याउनका लागि नेपाली कांग्रेसका महामन्त्री एवं झापा क्षेत्र नं १ का सांसद् विश्वप्रकाश शर्माले पहल गर्ने प्रतिबद्धता जनाएका छन  । महामन्त्री शर्माले बिनादेवीको मेचीनगरस्थित घर पुगेर परिवारका सदस्यलाई भेट गरेका छन।

महामन्त्री शर्माले ओमानस्थित नेपाली राजदूत डोरनाथ अर्यालसँग फोनमा कुराकानी गरेर बिनादेवीलाई स्वदेश ल्याउन आवश्यक पहल गर्न आग्रह गरेका छन । शर्माले बिनादेवीका छोरा सञ्जयलाई ओमान पठाउने र आमाको अवस्था हेरेर स्वदेश ल्याउने उपायका विषयमा पहल भइरहेको बताए ।

बिनादेवीका छोरा सञ्जयलाई ओमान जाने, आउने र बस्ने खर्चको व्यवस्थापन गरिने महामन्त्री शर्माले बताए । बिनादेवीका दुई छोरा, एक छोरी र पति छन् । जेठा छोरा सञ्जय मेचीनगर–७ स्थित राज चिया बगानमा मजदुरी गर्दै आइरहेका छन भने  कान्छा छोरा सुरज काठमाडौँमा मजदुरी गर्छन । छोरी अनिता कवरको विवाह भइसकेको छ । बिनादेवीका पति चिनीलालसमेत ज्याला मजदुरी गर्छन ।

Comments

सम्बन्धित खवर