•  ४ आश्विन २०८१, शुक्रबार
  •  8:40:00 AM

रक्षक नै भक्षक बनेपछि: भक्तपुरकाे प्रहरी बिटभित्रै हवलदारले गरे किशोरीमाथि बलात्कार

- भाद्र १, २०८१ मा प्रकाशित



भक्तपुर । प्रहरी बिटभित्रै उक १६ वर्षीया किशोरी बलात्कृत भएकी छन् । भक्तपुरको कमलविनायक बिटमा कार्यरत प्रहरी हवल्दार नवराज श्रेष्ठले बिटभित्रै बालिकालाई बलात्कार गरेको अभियोग लागेको हो ।

हवल्दार श्रेष्ठलाई जिल्ला अदालत, भक्तपुरले गत साता पुर्पक्षका लागि थुनामा पठाएको छ । ग्त असार २९ गते कमलविनायकस्थित कमलपोखरी क्षेत्रमा रातको समयमा युवकसँग गफ गरेर बसिरहेकी किशोरीलाई पक्राउ गरी बिटमा ल्याएर बलात्कार गरेको अभियोग हवल्दार श्रेष्ठमाथि लागेको छ ।

सुरुमा दुई प्रहरी गएर रातिसम्म किन बाहिर बसेको भनेर किशोरी र अर्का युवकलाई घर जान भनेर सम्झाएका थिए । त्यसको केहीपछि हवल्दार श्रेष्ठ एक्लै सो स्थानमा पुगेका थिए । त्यहाँबाट उनले दुवैलाई पक्राउ गरी बिटमा लगे । युवकलाई छाडेर बालिकालाई बिटभित्रै रहेको कोठामा राखी बलात्कार गरेको भन्दै मुद्दा दायर भएको हो ।

हवल्दार श्रेष्ठले भने आरोप अस्वीकार गरेका छन् । तर, पोलिग्राफ परीक्षणमा उनले झुटो बोलेको भनेर प्रतिवेदन आएको छ । गत २५ साउनमा जिल्ला अदालत, भक्तपुरका न्यायाधीश श्रीप्रसाद सञ्जेलले हवल्दार श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि उनी जेल चलान भएका छन् । पीडित बालिकाले घटनाको भोलिपल्ट आफू पढ्ने विद्यालयका शिक्षकलाई त्यसबारे बताइन् । त्यसपछि शिक्षककै पहलमा भोलिपल्ट प्रहरीमा उजुरी परेको हो । अनुसन्धानका क्रममा घटना साँचो देखिएपछि ३० असारमै उनलाई पक्राउ गरी मुद्दा दायर भएको हो ।

पीडितका अनुसार बलात्कारपछि बिहान ३ बजे ती किशोरीलाई उनले सय रुपैयाँ दिएर घर पठाएका थिए । बिटमा रहेको बेडको तन्ना समेत उनले प्रमाण नष्ट गर्ने उद्देश्यले भोलिपल्ट बिहानै धोएको समेत अभियोगपत्रमा जनाइएको छ ।

Comments

सम्बन्धित खवर