•  ४ आश्विन २०८१, शुक्रबार
  •  9:39:12 AM

अस्ट्रेलियामा बेपत्ता सुभाषको खोजबिन गर्न राजदूतसँग आग्रह

- श्रावण ३१, २०८१ मा प्रकाशित



काभ्रेपलाञ्चोक । नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कसँग नौ महिनाअघि अष्ट्रेलियामा हराएका काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–७ का एक युवाको खोजविन गर्न आग्रह गरिएको छ । २७ वर्षीय सुभाष बोलखे सिड्नी सहरबाट १८ दिनदेखि परिवारसँग सम्पर्कविहीन छन् ।

पाँचखालका नगर प्रमुख महेश खरेलले सुभाषका बुवासहित परिवारका सदस्य लिएर राजदूतसँग आज औपचारिक भेट गरी खोजविनका लागि आग्रह गरेका हुन् । सुभाषको पछिल्लो अवस्थाबारे जानकारी लिई खोजतलास गर्न राजदूतसँग विशेष आग्रह गरिएको नगर प्रमुख खरेलले बताए । ‘राजदूतले तत्काल जनशक्ति परिचालन गरी खोजविन गर्न लगाउने आश्वासन दिनु भएको छ, हामी आशावादी भएका छौँ’, उनले भने ।

बुवा सुदर्शन बोलखेकानुसार अध्ययनका लागि अष्ट्रेलिया गएका कान्छा छोरा सुभाष सिड्नी सहरमा नौ महिनादेखि एक्लै बस्दै आएकामा १८ दिनदेखि सम्पर्कविहीन छन् । राजदूतसँगको भेटपछि केही आशा पलाएको उनले सुनाए । नगर प्रमुख खरेलले राजदूतलाई सुभाषको कागजातसहित निवेदन दिएका थिए । बोलखे परिवारले पनि सुभाषको खोजविनमा सहयोग गर्न सिड्नीस्थित नेपाली तथा त्यहाँका निकायसँग आग्रह गर्दै आएको छ ।

Comments

सम्बन्धित खवर