•  ४ आश्विन २०८१, शुक्रबार
  •  9:53:01 AM

ताप्लेजुङमा पहिरोले दुई घर र पुल बगायो, विपदबाट १७४ जनाको मृत्यु

- श्रावण ३१, २०८१ मा प्रकाशित



ताप्लेजुङ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–६ मा गए राति गएको पहिरोले दुई वटा घर बगाएको छ । पहिरोले कञ्चनजङ्गा आधार शिविर जाने पदमार्गअन्तर्गत घुन्सा खोलाको पुल समेत बगाएको वडाध्यक्ष पेम्बाटासी शेर्पाले जानकारी दिए ।

पुल नजिकै स्थानीय छिरिङथाक्चे शेर्पाले होटेल सञ्चालन गर्दै आएको घर पहिरोले बगाएको हो । उनकै अलैँची बगानमा रहेको अर्को घर पनि पहिरोले पुरेको वडाध्यक्ष शेर्पाले बताए । होटेल सञ्चालक शेर्पा आज दिउँसो सदरमुकाम गएको र होटलमा रहेकी उनकी छोरी समेत बेलुका अर्को घरमा गएकाले मानवीय क्षति नभएको बताइएको छ ।

‘साँझदेखि नै पानी पर्न सुरू भएको थियो, राति करिब २ बजेपछि पहिरोले दुई घर बग्यो, घरमा कोही नभएकाले मानवीय क्षति भने भएन । घुन्सा खोलाको ८१ मिटर लामो पुल समेत बगाएपछि ओहोरदोहोरमा समस्या छ, यसको विकल्प खोजी रहेका छौँ’, वडाध्यक्ष शेर्पाले भने । पुल बगेकाले ओहोरदोहोरमा हुने समस्या समाधानका लागि तत्कालका लागि तुइन व्यवस्थापन गर्ने वा कुनै विकल्प गर्ने भन्ने बारेमा गाउँपालिकासँग समन्वय भइरहेको बताइएको छ । यही पुल भएर कञ्चनजङ्गा आधार शिविर जाने पदमार्ग पुग्ने गरिन्छ ।

बाढी, पहिरोलगायतका विपदमा परी आजसम्म १७४ को मृत्यु

अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपद्परी आज दिउँसोसम्म एक सय ७४ जनाको मृत्यु भएको छ ।

बाढी, पहिरोलगायत विपद्परी काठमाडौँ तीन जना, कोशी प्रदेशमा २६ जना, मधेस प्रदेशमा आठ जना, बागमती प्रदेशमा ३१ जना, गण्डकी प्रदेशमा ५४ जना, लुम्बिनी प्रदेशमा ३३ जना, कर्णाली प्रदेशमा आठ जना र सुदूरपश्चिम प्रदेशमा ११ जनागरी जम्मा एक सय ७४ जनाको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार बाढीपहिरोले काठमाडौँ उपत्यकामा ११ जना, कोशी प्रदेशमा ३७ जना, मधेस प्रदेशमा ११ जना, बागमती प्रदेशमा २३ जना, गण्डकी प्रदेशमा ४६ जना, लुम्बिनी प्रदेशमा १३ जना, कर्णाली प्रदेशमा ५५ जना र सुदूरपश्चिम प्रदेशमा २८ जनागरी जम्मा दुई सय २४ जना घाइते भएका छन् ।

बाढीपहिरोबाट कोशी प्रदेशमा ४९ जना, बागमती प्रदेशमा १२ जना, गण्डकी प्रदेशमा १४ जना, लुम्बिनी प्रदेशमा तीन जना, कर्णाली प्रदेशमा दुई जना र सुदूरपश्चिम प्रदेशमा पाँच जनागरी जम्मा एक सय १३ जनाको उद्धार गरिएको प्रवक्ता कार्कीले बताए ।

उनले भने, ‘बाढी पहिरोमा परी कोशी प्रदेशमा दुई जना, मधेस प्रदेशमा एक जना, बागमती प्रदेशमा ४१ जना, गण्डकी प्रदेशमा दुई जना, लुम्बिनी प्रदेशमा एक जना, कर्णाली प्रदेशमा एक जना र सुदूरपश्चिम प्रदेशमा एक जनागरी ४९ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजीकार्य जारी छ ।’

बाढीका कारण हालसम्म जम्मा तीन सय ८४ घर डुबानमा परेका प्रहरीले जनाएको छ । दुई सय ८६ वटा घर, एक सय चार वटा गोठ, ४८ वटा पुल, दुई वटा विद्यालय र दुई वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । बाढीपहिरोले आठ सय १६ वटा पशु चौपायको मृत्यु भएको छ । उक्त अवधिमा विपद्घटनाबाट चार हजार चार सय तीन घर परिवार विस्थापित भएका छन् । केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।

Comments

सम्बन्धित खवर