•  ४ आश्विन २०८१, शुक्रबार
  •  9:44:50 AM

बिराटनगरका नाकामा सुरक्षा सर्तकता बढाइयाे , नेपाल छिरिसकेका बङ्गलादेशीलाई रानीबाटै फर्काइयाे

- श्रावण ३०, २०८१ मा प्रकाशित



इटहरी । बंगलादेशमा देखिएको राजनीतिक संकट र हिंसाका कारण भारतको बाटो हुँदै बंगलादेशी नागरिकहरु नेपाल प्रवेश गर्ने प्रयासमा रहेको पाइएको छ ।भारतको जोगबनीबाट विराटनगरको रानी नाका हुँदै बंगलादेशका नागरिकले नेपाल प्रवेश गर्ने प्रयास गरिरहेकोमा केहीलाई प्रहरीले फिर्ता पठाएको छ ।बंगलादेशमा हिंसा बढेसँगै नेपालमा बंगलादेशीहरु प्रवेश गर्नसक्ने सूचना आएपछि प्रहरीले सतर्कता अपनाएको छ । कोशी प्रदेशका सीमा नाकाहरूमा सुरक्षा अवस्था कडा पारिएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

नेपाल प्रवेश गर्न खोज्ने दुईजना बंगलादेशी नागरिकलाई मंगलबार दिउँसो जोगवनी नाकाबाट फिर्ता पठाइएको छ । फिर्ता पठाइएकामा एक पुरुष र एक जना वृद्धा महिला रहेको मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए । उनका अनुसार बंगलादेशको घाना गोदागाडीका ४९ वर्षीय करिम मोहम्मद रिजाउल र ६३ वर्षीया जायदा बेगम नेपाल प्रवेश गरेका थिए ।

उनीहरू भारतीय नागरिकको समूहमा मिसिएर अनधिकृत रूपमा नेपाल प्रवेश गर्न खोजेका थिए । प्रहरीले चेकजाँच गर्ने क्रममा दुवै जनाको साथबाट बंगलादेशको नागरिक रहेको प्रमाणित हुने राहदानी फेला परेपछि उनीहरूलाई भारततिर नै फिर्ता पठाइएको हो । यसअघि पनि जोगवनीबाट नेपाल प्रवेश गर्न खोजेका बंगलादेशी नागरिकलाई प्रहरीले फिर्ता पठाएको थियो । प्रहरीका अनुसार बंगलादेश टाङगाई पूरा बरीका ४६ वर्षीय उत्तम सरकारलाई साउन २२ गते प्रहरीले फिर्ता पठाएको थियो । बंगलादेशी नागरिक प्रवेश गर्ने सम्भावनालाई मध्यनजर गर्दै नेपाल–भारत सीमा क्षेत्रमा कडाइ गरिएको छ ।

Comments

सम्बन्धित खवर