•  ४ आश्विन २०८१, शुक्रबार
  •  10:17:40 AM

कर्मचारीको तलब बढाउने तयारी गर्दै सरकार

- श्रावण २९, २०८१ मा प्रकाशित



इटहरी । सरकारले निजामती सेवाका राजपत्राङ्कित प्रथम, द्वितीय र तृतीय श्रेणीका कर्मचारीहरुको तलब बढाउनेबारे गृहकार्य थालेको छ ।

सर्वोच्च अदालतले निजामती सेवाका राजपत्राङ्कित प्रथम, द्वितीय र तृतीय श्रेणीका कर्मचारीहरुको आधारभूत तलबमा समान मर्यादाक्रममा रहेका अन्य सरकारी सेवाका कर्मचारीसरह हुने गरी तलबमान समायोजन–निर्धारण लागू गर्न–गराउन असार १० मा परमादेश जारी गरेको थियो । त्यही आधारमा सरकारले कर्मचारीको तलबमान बढाउन मन्त्रिपरिषद्मा छलफल भएको एक मन्त्रीले जानकारी दिए ।

‘सर्वोच्चले गरेको परमादेशले तोकिएको कर्मचारीका तलब बढाउन भनेकाले समानताका आधारमा अन्य कर्मचारीको पनि बढाउनेबारे छलफल भयो,’ ती मन्त्रीले भने । गत असार १० गते सर्वोच्चका न्यायाधीशद्वय मनोजकुमार शर्मा र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले कर्मचारीको तलवमान बढाउन परमादेश गरेको थियो ।

सहन्यायाधिवक्ता गोविन्द खनाल, उपन्यायाधिवक्ता सन्तोष शर्मा, पदमबहादुर कार्की, विमला रेग्मी, युवराज महत, चपला पोखरेल र प्रकाश गौमतलगायतले तलबमानमा विभेद भएको भन्दै निजामती सेवाको राजपत्राङ्कित प्रथम, द्वितीय र तृतीय श्रेणीमा कार्यरत राष्ट्रसेवक कर्मचारीहरूको समानताको आधारमा तलब बढाउनु पर्ने माग गर्दै सर्वोच्चमा रिट दिएका थिए ।

रिटमा सोही वरीयतामा रहेका सुरक्षा निकायतर्फका अधिकृतको तलबमान निजामतीतर्फका कर्मचारीको तुलनामा बढी भएको जिकिर गर्दै तलब बढाउन माग गरिएको थियो । संसदीय समितिले आर्थिक वर्ष २०७९/०८० कै तलबमानलाई वैज्ञानिक ढङ्गले समायोजन गर्न निर्देशन दिएको भए पनि सरकारले गठन गरेकोको समितिले प्रतिवेदन पेस गरिसकेको अवस्थामा समेत तलबमान समायोजनतर्फ ठोस पहल नभएको भन्दै रिट दायर भएको थियो ।

Comments

सम्बन्धित खवर