•  ४ आश्विन २०८१, शुक्रबार
  •  8:40:00 AM

भोजपुरको इर्खुवाखोलाले २० कि.मि. सडक बगायाे

- श्रावण २७, २०८१ मा प्रकाशित



भोजपुर । भोजपुरको इर्खुवाखोलामा आएको बाढीले सडक बगाउँदा जिल्लाको साल्पासिलिछो गाउँपालिकामा आवागमन कष्टकर भएकोे छ । यही साउन १६ गतेकोे बढीले गोथेबजारबाट नागदह हुँदै दोभाने, ओसेप्ला, खाम्दाक खण्डको २० किलोमिटर सडक विभिन्न स्थानमा बगाउँदा आवागमन  कष्टकर भएको हो ।

बाढीबाट पुललगायत अन्य संरचनामा पनि क्षति भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिश काफ्लेले जानकारी दिए । बाढीले सडक बगाउँदा खाद्यान्न ढुवानीमा समस्या भएको बताए ।  बढीबाट पाँच करोड बराबरको क्षति भएको उनको अनुमान छ ।

गाउँपालिकाको केन्द्र चौकीडाँडासँगै भोजपुर सदरमुकाम तथा अन्य जिल्ला आवतजावत गर्ने  तीनवटै सडकका सबै नाका बन्द भएका गाउँपालिका अध्यक्ष दौलथ कुलुङले बताए । गाउँपालिकाको बजेटले भत्केको सडक मर्मतसम्भार तथा बगेको स्थानमा नयाँ बनाउन नसकिने उनले बताए । बाटो बनाउन १० करोड लाग्ने उनको अनुमान छ । क्षति भएका संरचना बनाउन केन्द्र र प्रदेश सरकारलाई गुहार्नु विकल्प आफूहरूसँग नभएको पनि उनले बताए ।

बढीले वडा नं १ गौडेनी पुलमा एक करोड ५० लाख, वडा नं ३ मा इर्खुवाखोला लघुजलविद्युत् आयोजनामा एक करोड, वडा नं ५ र ६ को दोभाने फेदी सडकमा एक करोड र भमला ढाँडगाउँ पुलमा १० लाख बराबरको क्षति भएको गाउँपालिकाले जनाएको छ । यसैगरी, वडा नं ४ मा  निर्माणाधीन याक्सा नागदह मोटरेबल पक्की पुलमा ४० लाख बढीको क्षति भएको  छ ।

Comments

सम्बन्धित खवर