•  ३ आश्विन २०८१, बिहीबार
  •  5:38:17 AM

आज यी प्रदेशमा छ भारीदेखि अति भारी बर्षाको सम्भावना

- श्रावण २३, २०८१ मा प्रकाशित



इटहरी । अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको मौसमविदले जनाएका छन् । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

अहिले बुधबार बिहान  देशभर साधारणतया बदली रहेको छ ।  कोशी, मधेस, बागमती,  कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

बुधबार दिउँसो देशभर साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा मधेस प्रदेशका केही स्थानहरुमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी र सुदूरपश्चिम प्रदेशका थोरै साथै लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको संभावना रहेको छ । सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ ।

राति देशभर आंशिकदेखी साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै सिन्धुपाल्चोकको बाह्रबिसेमा १ सय ११ दशमलव ४ मिलिमिटर वर्षा भएको छ । सिन्धुपाल्चोकमा नाकोटेको मेलम्ची नदी जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले मेलम्ची बजार लगायत तल्लो नदी तटीय क्षेत्रमा बाढीको जोखिम बढेको हुँदा यस क्षेत्रमा रहनेले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

यस्तै कञ्चनपुरको सुन्दरपुरमा ७९ दशमलव ८ मिलिमिटर पानी परेको छ । इलामको कन्याममा ६८ दशमलव २, सोलुखुम्बुको पिकरनसमा ६५ दशमलव २, अछामको असारघाटमा ६५ मिलिमिटर पानी परेको छ । धनकुटा, दैलेख, तेह्रथुम, खोटाङ लगायतका क्षेत्रमा अहिले पनि पानी परिरहेको छ । मौसम पूर्वानुमान महाशाखाले आज पनि देशका धेरै ठाउँमा ठूलो पानी पर्ने अनुमान रहेकाले बाढी, पहिरो र डुबान हुन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।

Comments

सम्बन्धित खवर