•  ३ आश्विन २०८१, बिहीबार
  •  5:38:19 AM

‘कारागारमा आर्थिक अनियमितता : नयाँ कैदीबन्दीलाई कुटिन्छ, पैसा नदिए शौचालय सफा गर्नुपर्छ’

- श्रावण २२, २०८१ मा प्रकाशित



लमजुङ । लमजुङस्थित जिल्ला कारागारमा आर्थिक अनियमितता र बेथिति भोग्नु परेको कैदीबन्दीले गुनासो गरेका छन् । कारागारमा आर्थिक अनियमिता, आन्तरिक मूल्यवृद्धि र मनोमानी हुने गरेको गुनासो कैदीबन्दीले गरेका हुन् ।

यहाँ आन्तरिक प्रशासनको जिम्मेवारी पाएकाहरुबाटै कैदीबन्दीले उपभोग गर्ने सामानको मिलेमतोमा बजार मूल्यभन्दा बढी रकम लिने, खाना पकाएको पैसा असुल्ने, तरकारीजन्य सामान खरिद, औषधि उपचारमा अनियमितता र मनोमानी हुने गुनासो बढेको हो । कारागारमा तरकारी पकाउँदा रु ८० देखि एक सय तिर्नुपर्ने, मासु पकाउँदा रु एक सय दिनुपर्ने र पैसाबाहेक प्याज, टमाटर छुट्टै किन्नुपर्ने, कैदीबन्दीले पाउने सिदा रकम दैनिक रु ८० र सात सय ग्राम चामलमा समेत अनियमिता हुने गरेको गुनासो कैदीबन्दीको छ ।

हाल कारागारमा एक सय १३ कैदीबन्दी छन् । उक्त संख्या अनुसार दैनिक रु नौ हजार ४० सिदा रकम र करिब ८० केजी चामल उपलव्ध हुने गरेको छ । मासिक रु दुई लाख ७१ हजार दुईसय सिदा रकम र २४ क्विन्टल चामल उपलब्ध हुने गरेको छ । सो कारोबारबाट दैनिक रु चार हजार र २० केजी चामल बचत हुने भए पनि त्यसको पारदर्शिता नदेखिएको कैदीबन्दी बताउँछन् ।

प्यारोल र लगत पठाउँदा चौकीदारले रु एक हजार पाँच सयदेखि दुई हजार पाँच सयसम्म माग्ने गरेको उनीहरु बताउँछन् । अस्पतालमा उपचार गर्दा ५० प्रतिशत खर्च आफैले तिनुपर्ने र नाइके तथा चौकीदारबाट हातपात हुने गरेको उनीहरुको भनाइ छ । पहिलो पटक आउने कैदीबन्दीबाट रु पाँच सय आन्तरिक कोषका लागि भन्दै असुल्ने गरेको र सो रकम दिन नसके वा नदिएमा दुई हप्तासम्म भाँडा माझ्न, शौचालय सरसफाइ गर्न लगाउने गरेको कैदीबन्दीले बताए । सो विषयमा कैदी विष्णु गिरी थापा र अशोक दवाडीलगायत सँग बुझ्न खोज्दा भन्न चाहेनन् तर केही सयमअघि कारागारबाट कैद भुक्तान गरेर निस्किएका कैदीबन्दीले उक्त गुनासो सत्य भएको बताएका छन् ।

कारागारमा केही वर्षअघि चौकीदार र हाल नाइके रहेका शम्भुलाल श्रेष्ठले तरकारी र खानाको जिम्मा लिँदै आएका छन् । उनले अनियमितता नगरेको बताए । तरकारी किलोकै रु दुई सयसम्म पर्ने र कहिले अण्डा, कहिले मासु खुवाउने गरेको श्रेष्ठले बताए । दैनिक १५–१६ किलो तरकारी चितवन र विभिन्न स्थानबाट ल्याएर गुणस्तरीय खाना खुवाएको उनको भनाइ छ । उनले केही रकम बच्ने गरेको स्वीकार गर्दै सो रकम आन्तरिक कोषमा जम्मा गर्ने गरेको बताए ।

उनले पहिलो चोटि आएका कैदीबन्दीबाट आन्तरिक कोषका लागि रु पाँच सय रकम उठाउने गरेको र सो रकम दिन नसक्ने वा नदिनेलाई दुई हप्तासम्म जुठो भाँडा माझ्न, शौचालय सफा गर्न लगाएको स्वीकारे । ‘भनेर नमान्ने कैदीबन्दीलाई तर्साउन हातपात गर्छौं, के गर्नु भनेर नमान्नेलाई यसरी गर्नुपर्छ’, उनले भने । केही वर्ष पहिले त लात्तीले मुर्छा पर्ने गरेर हिर्काउने गरिएकामा अहिले त्यसो नगरिने उनले सुनाए ।

उनले आफैं कारागार आउँदा आन्तरिक कोषका लागि भनी रु १० हजार मागेको र पछि रु पाँच हजार फिर्ता पाए पनि पाँच हजार बुझाउनु परेको बताए । नाइके श्रेष्ठले भने, ‘यहाँ यसरी रकम माग्ने र सजाय दिने तथा हातपात गर्ने चलन पहिलाबाटै हो ।’ आन्तरिक कोषमा जम्मा गरिएको रकमबाट बिरामी कैदीबन्दीका लागि आकस्मिक काममा खर्च गर्ने गरिएको उनको भनाइ छ ।

चौकीदार खुसीराम मगरातीले आफू साउनबाट मात्र चौकीदार रहेकाले केही अनियमितता नगरेको बताए । आफू चौकीदार भएपछि मूल्यवृद्धि नगरी सरकारले तोकेको मूल्यमा सामान उपलब्ध गराउन, कुनै कैदीबन्दीलाई हातपात नगर्न नाइके लगायतलाई भन्ने गरेको बताए । अस्पतालमा कैदीबन्दी बिरामी भएर उपचार गर्दा ५० प्रतिशत रकम आफैले तिर्नुपरेको गुनासो उनको छ । ‘म चौकीदार हुनुअघि चैतमा ज्वरो आएर लमजुङ अस्पताल उपचार गर्न पुगेको थिएँ । त्यहाँ उपचार गर्दा रु दुई हजार छ सय खर्च भयो, मैले सबै बिल बराबरकै रकम बुझाएँ तर एक  हजार आठ सय मात्र पाएँ’, चौकीदार मगरातीले भने ।

कारागार प्रशासनले यस विषयमा गम्भीर अनुसन्धान गरी कैदीबन्दीहरु माथि हुने शोषण, दमन  नियन्त्रण गर्नुपर्ने कारागारबाट कैद भुक्तान गरी निस्किएका कैदीबन्दीहरुको भनाइ छ । कारागारभित्र कैदीबन्दीले खुलेर समस्या राख्न नसक्ने भएकाले सो समस्याबारे कसैलाई भन्न नसक्दा सो कारागारमा अनियमितता हुँदै आएको केही महिनाअघि कारागारबाट छुटेका रोशन तामाङले जानकारी दिए ।

कारागारका निमित्त जेलर सुमिता मरासिनीले भनिन्, ‘कारागारका यो विषयमा बल्ल जानकारी पायौँ, हामीलाई थाहा थिएन, हामी यस विषयमा छानबिन गर्छौं ।’ हातपात हुने गरेको, आन्तरिक कोषका लागि रकम उठाउने र नदिनेलाई सजाय दिने गरेको समेत भर्खरै थाहा पाएको उनले बताइन् । ‘हामीले कैदीबन्दीको खर्च सबै मेडिकल नाइकेलाई  नियमअनुसार पठाएका छौँ तर सबै रकम कैदीबन्दीले नपाएको बल्ल थाहा भयो । यी विषयमा हामी कदम उठाउँछौँ’, उनले भनिन् ।

प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङले यस विषयमा हालसम्म केही जानकारी नभएको बताए । ‘त्यहाँ शङ्का गर्न सकिन्छ, प्रमाण त छैन । साँच्चीकै नियम हुनुपर्छ, सिस्टमभन्दा बाहिर जान मिल्दैन तर जेलभित्र उनीहरुको पनि छुट्टै शासन हुन्छ’, प्रजिअ गुरुङ्ले भने, ‘ठूला कारागारमा पनि यस्तो शासन हुन्छ तर त्यहाँ केही अनियमिततालगायत समस्या भएको छ भने हेर्छु, यसमा मेरो ध्यान गएको छ ।

Comments

सम्बन्धित खवर