•  ३ आश्विन २०८१, बिहीबार
  •  3:13:42 AM

भीमेश्वर मन्दिरको शिलामा ‘पसिना’ : के अनिष्ट हुँदैछ ?

- श्रावण ६, २०८१ मा प्रकाशित



बायाँ भागतर्फ पसिना आउँदा जनतालाई दुख कष्ट हुने र दायाँ भागतर्फ पसिना आएमा राष्ट्र प्रमुखलाई अनिष्ट हुने जनविश्वास

काठमाडौं ।  दोलखाको भीमेश्वर मन्दिरमा रहेको शिलामा शनिवार दिउँसोबाट ‘पसिना’ आएको छ । भीमेश्वर मन्दिरमा आउने ‘पसिना’ लाई  मुलुकमा अनिष्ट अर्थात् विपत् आउन लागेको समयमा पूर्व सूचनाका रुपमा लिइन्छ ।

दोलखाका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलका अनुसार आज दिउँसो १ बजेर ४७ मिनेटबाट पसिना आउन सुरु भएर ३ बजेर ५१ मिनेटमा रोकिएको थियो । शिलामा पसिना आएपछि ठूलो संख्यामा स्थानीय भक्तजन भेला भएका थिए । उनीहरूले ठूलो आवाजमा घण्टा, नगरा बजाएका थिए भने मन्दिरका पुजारी तथा समितिका मानिसले शिलाको पसिना कपासले पुछेका थिए ।

आज शिलाको बायाँभागमा पसिना आएको थियो । बायाँ भागतर्फ पसिना आउँदा जनतालाई दुख कष्ट हुने र दायाँ भागतर्फ पसिना आएमा राष्ट्र प्रमुखलाई अनिष्ट हुने जनविश्वास रहेको सिडिओ पोखरेलले बताए।

वि.सं. १९९०, १९९७, २००७, २०११, २०१७, २०१८, २०३६, २०४६ र २०५७ माघ १ र २ गते पनि पसिना आएको बताइन्छ ।  पसिना आएका यी वर्षमा देशमा प्राकृतिक विपत, राजनीतिक परिवर्तन, दरबार हत्या काण्डजस्ता घटना भएको थियो ।

दोलखा जिल्लाको सदरमुकाम चरिकोटबाट उत्तरपूर्वमा रहेको ऐतिहासिक सहर दोलखास्थित भीमेश्वर मन्दिर नेपालकै प्रसिद्ध देवस्थल हो । किराँतकालमै स्थापना भएको मानिन्छ। मन्दिरमा नित्य पूजाबाहेक भीम एकादशी, बालाचतुर्दशी, चैतेदसैं तथा बडादसैंमा विशेष पूजा हुन्छ । काठमाडौंको पुरानो बसपार्कबाट १ सय ३३ किलोमिटरको यात्रा तय गरेपछि चरिकोटबाट मन्दिर पुग्न थप चार किलोमिटर यात्रा तय गर्नुपर्छ ।

पछिल्लो पटक २०७८ वैशाख २५ गते भीमेश्वरको शिलामा पसिना आएको थियो भने आज आएको पसिना २१औँ पटकको हो। शिलामा पसिना आएपछि तान्त्रिक विधिबाट पूजा नगरी पसिना रोकिँदैन भन्ने विश्वास रहेको छ।

शिलामा पसिना आएपछि उक्त पसिना पुछेको कपास राष्ट्र प्रमुखकोमा पठाउने र राष्ट्रप्रमुखको तर्फबाट क्षमा पूजा गर्ने प्रचलनसमेत रहेको छ। क्षमा पूजाका लागि राष्ट्रपतिबाट सामग्री पठाउने प्रचलन छ।

Comments

सम्बन्धित खवर