•  ४ आश्विन २०८१, शुक्रबार
  •  6:33:31 AM

आफ्नै कारण ‘अप्ठ्यारो’ मा उपसभामुख रानामगर , भन्छिन – मलाई बदनाम गर्न खोजियो

- श्रावण ४, २०८१ मा प्रकाशित



काठमाडौं । काठमाडौंस्थित अमेरिकी दूतावासलाई लेखेको एउटा पत्रका कारण अहिले उपसभामुख इन्दिरा रानामगर विवादमा परेकी छन् । उपसभामुख रानामगरले अमेरिकी दूतावासलाई आफूसहित ६ जनाको भिसाको अन्तर्वार्ताको समय मिलाई दिन लेखेको पत्रले उनलाई विवादमा तानेको हो ।

सन् २०२३ फ्रेब्रुअरी २६ मा रानाले अमेरिकाको न्यूयोर्कमा आयोजना भएको ‘एनजिओ सिएसडब्लु ६७’ कार्यक्रममा आफूसहित अन्य ६ जना जान लागेको र व्यस्त कार्यतालिका भएकाले भिसाको अन्तर्वाता मिति मिलाइ दिन दूतावासलाई पत्र लेखेकी थिइन् । उनले पत्रमा आफूसहित सबैका लागि उक्त कार्यक्रम महत्वपूर्ण भएको र संयुक्त राष्ट्रसंघबाट आएको निम्तोलाई उच्च प्राथमिकतामा राखेको समेत उल्लेख गरेकी थिइन् । रानाले पत्रमा उपेन्द्र गौतम, सुष्मा लामा, राजेश लामा तामाङ, सुजन घर्तीमगर र धनबहादुर गुरूङ सहभागी हुन लागेको उल्लेख गरेकी थिइन् । एक वर्षपछि उपसभामुख रानाले लेखेको पत्र विवादमा आउनुका केही कारण छन् ।

पहिलो, उपसभामुख समेत रहेकी सांसद रानाले रातो पासपोर्ट प्रयोग गर्न पाउँछिन् । रातो पासपोर्ट बोक्ने व्यक्तिले निःशुल्क भिसा प्राप्त गर्छ भने अध्यागमनको प्रक्रियामा सहजताका साथै केही कूटनीतिक उन्मुक्ति प्राप्त गर्छ । उपसभामुखलाई कुनै आधिकारिक भ्रमणको निम्तो आएको अवस्थामा उनलाई संघीय संसद सचिवालयले भ्रमणको प्रबन्ध मिलाउनेदेखि परराष्ट्र मन्त्रालयसँग समन्वय गर्ने काम गर्छ ।

संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार संसद सचिवालयमा यस्तो भ्रमणहरूको व्यवस्थापन तथा सहजीकरणका लागि अन्तराष्ट्रिय सम्पर्क तथा समन्वय महाशाखा नै छ । तर उपसभामुख रानाले आफ्नै लेटरहेडबाट आफै पत्राचार गरेको देखिन्छ ।

दोस्रो, रानाले उपसभाुमखको लेटरहेडबाट आफूसँग जाने भ्रमण टोलीमा संघीय संसद सचिवालयसँग सम्बन्धित नै नरहेका मानिसहरुलाई ‘डेलिगेट्स’ का रूपमा उल्लेख गरेकी छिन् । जसबाट उनले कस्ता व्यक्तिका लागि आफ्नो लेटरहेडबाट भ्रमणको सहजीकरणका लागि सिफारिस गरिन् भन्ने प्रश्न उठेको छ ।

उपसभामुख रानाले भने आफूसँगै साइकल कुदाउने गरेका एक जना भाइले सिफारिस माग गरेकाले आफूले पत्र लेखेको बताएकी छन् । ‘मसँगै झापामा साइकल कुदाउने भाइले ‘हामीलाई सिएसडब्लुबाट निम्तो आएको छ । दूतावासमा प्रि–डेट मागिदिनु न, नत्र एक वर्ष पर्खनु पर्ने भयो’ भन्यो,’ रानाले सुनाइन्, ‘अन्तर्वार्ताको मिति मिलाइ दिनुपर्‍यो भनेकाले पत्र दिएको हो । उसले अर्को सिफारिस पत्र पनि मागेको थियो । तर हामीले दिएनौं ।’

उनले नाम उल्लेख भएका ६ जना मध्ये एक जनासँग मात्र आफ्नो चिनजान रहेको स्पष्ट पारेकी छन् । ‘मैले अन्तर्वार्ताको प्रि–डेटका लागि पनि पत्र दिन मानेको थिइनँ,’ रानाले भनिन्, ‘तर उनीहरूले प्रिडेटको लागि मात्र हो भनेर धेरैपल्ट धाए । मैले हतार हतारमा पत्रमा हस्ताक्षर गरें कि ! मेरो हस्ताक्षर छ । यो पत्रको कुनै रेकर्ड मेरो सचिवालयमा पनि छैन ।’

उनले आफू पनि सोही समयमा अमेरिका गएर फर्किएको बताइन् । तर सिएसडब्लुको कार्यक्रममा भने सहभागी हुन नसकेको उल्लेख गरिन् । उपसभामुख रानाले आफूलाई अहिले बदनाम गर्न खोजिएको बताइन् । मानव तस्करी गर्न खोजिएको भन्दै कतिपयले लगाएको आरोपमा भने उनले प्रतिवाद गरिन् ।

‘मलाई आरोप लगाउन त प्रमाणित गर्नुपर्छ । अध्यागमन जाँच गरे भइहाल्छ नि । सबैको पासपोर्टको नम्बर त्यहीँ पत्रमा छ । मसँग कोही गएको छैन । नेपालबाट म र लक्ष्मी भण्डारी गएका छौं । कतारको ट्रान्जिटमा बन्दना राणासँग भेटेर फोटो खिचाएको छु । मैले लिएर जानुपर्‍यो नि तस्करीमा त !’ उनले आफू सभामुख भएको दुई वर्षपछि अहिले पत्र बाहिरिनु नियोजित भएको बताइन् । संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले भने सांसदहरूले व्यक्तिगत रूपमा गर्ने पत्राचार कतिपय भ्रमणबारे संघीय संसद सचिवालयलाई समेत जानकारी नहुने बताए ।

Comments

सम्बन्धित खवर