•  ३ आश्विन २०८१, बिहीबार
  •  4:02:45 AM

गुल्मी मुसिकोटमा लघु जलविद्युतको नहर बाढीले बगायो, २५०० घरधुरीमा बिजुली बन्द

- श्रावण २, २०८१ मा प्रकाशित



गुल्मी । अविरल वर्षासँगै आएको बाढीले गुल्मीमा विद्युत परियोजनाको नहर बगाएको छ ।मुसिकोट नगरपालिकाका – ७ र ८ मा रहेका लघु विद्युत परियोजनाका नहर बडिगाड खोलाले बगाएपछि त्यहाँका नागरिक एक सातादेखि अन्धकारमा बस्न बाध्य भएका छन् ।असार २१ गते परेको अविरल वर्षासँगै आएको बडिगाडको बाढीले परोपकार लघु जलविद्युत र दरमखोला लघु जलविद्युत नहर बगाएको परोपकार लघु जलविद्युत आयोजनाका पूर्वअध्यक्ष गोपिकृष्ण खरेलले बताए ।

नहर बगाएर विद्युत अवरुद्ध हुँदा मुसिकोट नगरपालिकका वडानम्बर १, २,३,७, ८ का साथै बागलुङको बडिगाड गाउँपालिका वडानम्बर २, ५ र गलकोट नगरपालिकाको वडानम्बर ११ का गरी २५०० घरधुरी प्रभावित भएका छन् । परोपकार लघु जलविद्युत १३५ किलोवाट र दरमखोला लघु जलविद्युत ५० किलोवाट विद्युत उत्पादन हुँदै आएको थियो । खोलाले नहर बगाएपछि नहर मर्मत गर्न केही महिना नै लाग्ने संस्थाले जनाएको छ ।

अहिले खोलामा पानीको बहाव धेरै भएकाले मर्मत गर्न समस्या रहेको खरेलले बताए । त्यस स्थानमा राष्ट्रिय प्रसारण लाइन पनि पुगेको छ । तर उक्त विद्युतको ट्रान्स्फर्मर क्षमता कमजोर हुँदा मोबाइल चार्ज गर्ने बाहेक अन्य कामहरु नहुने गरेको खरेलको भनाइ छ ।विद्युत नहर मर्मत गर्न लामो समय लाग्ने भएपछि त्यस क्षेत्रका नागरिक लामो समयसम्म अन्धकारमा बस्न बाध्य हुनुपर्ने भएको छ ।

Comments

सम्बन्धित खवर