•  ३ आश्विन २०८१, बिहीबार
  •  10:57:04 PM

सृष्टिसँगै त्रिशूलीमै बग्यो यादव परिवारको सपना

- असार ३०, २०८१ मा प्रकाशित



बारा । कलैया उपमहानगरपालिका–१४ निवासी २६ वर्षीया सृष्टि यादव शुक्रबार भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोमा परी त्रिशूलीमा खसेका बससँगै बेपत्ता छिन् ।

रेडियोग्राफीको तालिमपछि पर्साको सखुवा प्रसौनी गाउँपालिकामा रेडियोग्राफरका रूपमा कार्यरत उनी परिवारको सहारा थिइन् । जागीरे भए पनि उनी सन्तुष्ट थिइनन्, त्यसैले थप कमाइका लागि विदेश जान भनेर उनी परीक्षाका लागि काठमाडौं जाँदै थिइन् । तर काठमाडौं नपुग्दै त्रिशूलीमै बेपत्ता भइन् । योसँगै उनको परिवारको सपना समेत त्यही अस्ताएको छ ।

सृष्टिका बुबा जगदीशप्रसाद यादवले जापान जान परीक्षा दिन काठमाडौं गएकी छोरी शुक्रबार बससँगै त्रिशूलीमा बेपत्ता भएको बताए । दुई दिनदेखि दुर्घटनास्थलमा रहेका उनी भन्छन्, ‘छोरी काठमाडौँ गएको १० बजे राति कुरा गरेर बुबा म काठमाडौं जाँदैछु, परीक्षा दिएर भाइसँग भेट गरेर फर्किन्छु, त्यहाँ पुगेपछि म हजुरसँग कुरा गर्छु भन्थि तर त्यसअघि नै त्रिशूलीमा अस्ताइन् ।’

छोरीको शवको पर्खाइमा जगदीश रातदिन त्रिशूली नदीको किरानामा भौतारिरहेका छन् । ‘छोरीको सपना पूरा भएन, उसँगै हाम्रो सपना पनि त्रिशुलीले बगायो तर अब अन्तिम इच्छा छ छोरीको शव भेटाएर आफ्नो संस्कारअनुसार दाहसंस्कार गर्न पाइयोस्’ उनको भनाइ छ ।

Comments

सम्बन्धित खवर