•  ३ आश्विन २०८१, बिहीबार
  •  10:55:01 PM

सिमलताल पहिरो : नवलपुरमा भेटियो सर्लाहीका रमितको शव, अर्का एकको पहिचान बाँकी

- असार ३०, २०८१ मा प्रकाशित



 काठमाडौँ । पूर्वी नवलपरासीको गैंडाकोटस्थित नारायणी नदी किनारमा भेटिएका दुईमध्ये एक पुरुषको शव चितवनको नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत सिमलतालको पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता गणपति डिलक्सका यात्रु भएको पुष्टि भएको छ ।

एक शव सर्लाही बरहथवा नगरपालिका–३ बस्ने वर्ष १९ का रमितकुशर माझीको भएको खुलेको
चितवनका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिए । उनका बुवा रविन्द्र कुशर माझीले छोराको शव पहिचान गरेका हुन् । उनी काठमाडौँबाट गौर जाँदै गरेको प्रदेश ०३ ००१ ख २४९५ नम्बरको गणपति डिलक्सका यात्रु हुन् । गैँडाकोटमै फेला परेको अर्को शवको सनाखत हुन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ ।

आज दिउँसो माछा मार्ने बोटेहरूले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । गैंडाकोटमा प्रकृति मुचुल्का उठाइ शव पहिचानका लागि चितवन ल्याइएको थियो । एक शव खुट्टामा जुत्ता र भित्री वस्त्र मात्रै रहेको अवस्थामा भेटिएको छ भने अर्को शव गाडिएको अवस्थामा भेटिएको थियो ।

यसअघि आज विहान जिल्लाको भरतपुर महानगरपालिका–२८ गोलाघाटस्थित नारायणी नदी किनारमा सिमलताल पहिरोले बगाएको बसका यात्रु भारतीय नागरिक ऋषिपल साहको शव भेटिएको थियो । भारतको मोतिहारी राजमुनुवा घर भएका २८ वर्षीय साह काठमाडौँको जोरपाटीबाट गौर जानका लागि गणपति डिलक्स चढेका थिए ।

काठमाडौँबाट रौतहटको गौर जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स बस लेदोसहितको पहिरोमा परेर त्रिशूली नदीमा खस्दा नन्दन दास, सुरजप्रसाद गुप्ता र जगेश्वर यादव हाम फालेर ज्यान जोगाएका थिए ।

प्रहरीले बेपत्ता बस र यात्रुको खोजीका लागि विपद् उद्धारका सबै शक्ति लगाइएको जनाएको छ । आज सशस्त्र प्रहरीको गोताखोर टोलीले ‘स्नेक आइ’ क्यामराको सहयोगमा खोजी गरिरहेको छ । उक्त क्यामराले पानीमुनिका वस्तु पहिचानमा सहयोग गर्छ ।

शुक्रबार विहान अन्दाजी ३ बजेतिर नारायणजगढ–मुग्लिन सडक खण्डअन्तर्गत चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा माथिबाट खसेको पहिरोसँगै बगेका यात्रुसहितका दुई बस त्रिशूली नदीमा बेपत्ता भएको हो । दुवै बसमा ५४ यात्रु रहेको खुले पनि संख्या थोरै घटबढ हुनसक्ने प्रहरीले जनाएको छ ।

सिमलतालबाट बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एञ्जल डिलक्स र बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स नदीमा खसेका हुन् । एञ्जल वीरगञ्जबाट काठमाडौँतर्फ र गणपति काठमाडौँबाट रौतहटको गौरतर्फ जाँदै गरेको अवस्थामा पहिरोसँगै त्रिशूली नदीमा खसेका हुन् ।

Comments

सम्बन्धित खवर