•  ३ आश्विन २०८१, बिहीबार
  •  10:33:33 PM

विश्वासकाे मत नपाएपछि ढल्याे प्रचण्ड सरकार : धारा ७६ (२) बमोजिम सरकार गठनको आह्वान, ओली प्रधानमन्त्री बन्ने निश्चित

- असार २८, २०८१ मा प्रकाशित



इटहरी डेस्क । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न असमर्थ भएका छन् । प्रतिनिधिसभाबाट विश्वास गुमाएकाले प्रधानमन्त्री प्रचण्ड पदमुक्त भएका छन् ।

सत्ता साझेदार दल एमालेले कांग्रेससँग नयाँ सत्तागठबन्धनका निम्ति सरकार छाडेर समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले आजको प्रतिनिधिसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गरेका थिए । शुक्रबार (असार २८) मा प्रचण्डले विश्वास गुमाएसँगै गठन भएको १८ महिनापछि उनी नेतृत्वको सरकार पनि ढलेको छ । प्रचण्डले शुक्रबार (असार २८) संविधानको धारा १०० को उपधारा (२) बमोजिम पाँचौपटक विश्वासको मत मागेका थिए ।

प्रधानमन्त्रीको प्रस्तावमाथि भएको मतदानमा उनको पक्षमा ६३ मत पर्‍यो भने विपक्षमा १९४ सांसदले मतदान गरे । एक सांसद तटस्थ रहे । बैठकमा दुई सय ५८ सांसद उपस्थित थिए । प्रधानमन्त्रीको पक्षमा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र एकीकृत समाजवादीका सांसदले मतदान गरे । कांग्रेस, एमाले, राप्रपा, जसपा नेपाल, जसपालगायतका दलका सांसदले प्रधानमन्त्री प्रचण्डको विपक्षमा मत जाहेर गरे ।

संविधान जारी भएपछिको दोस्रो आमनिर्वाचनबाट तेस्रो दल बनेको एकीकृत माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड १० पुस ०७९ मा प्रधानमन्त्री नियुक्त भएका थिए । प्रचण्ड सरकार ढलेसँगै नयाँ सरकार गठनको बाटो खुलेको छ । नयाँ सरकार गठनका लागि नेपाली कांग्रेस र नेकपा एमालेले दावी पेस गर्दैछन् । दुई ठूला दलबीच भएको सात बुँदे सहमति अनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाइने भएको छ ।

Comments

सम्बन्धित खवर