•  ३ आश्विन २०८१, बिहीबार
  •  3:22:07 AM

इटहरी २१ करोडको लागतमा आधुनिक सभा हल निर्माण सुरु

- आश्विन २, २०८१ मा प्रकाशित



इटहरी । इटहरीमा लामो समयदेखि घोषणा पत्रहरूमा उल्लेखित सभागृह निर्माणको बाचा यस वर्ष पूरा हुँदै छ। इटहरीमा ठूला कार्यक्रमहरू आयोजना गर्न व्यवस्थित सभा हलको अभावले समस्या हुँदै आएको थियो। नगरसभासमेत भाडाको हलमा गर्नुपर्ने बाध्यताको अन्त्य गर्दै, इटहरी उपमहानगरपालिकाले अब एक आधुनिक सभा हलको निर्माण सुरु गरेको छ।

इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले सभा हलको शिलान्यास गर्दै, यो प्रोजेक्ट इटहरीबासीको पुरानो सपना पूरा गर्ने कदम भएको बताए। ३ तल्लाको यस भवनमा ‘तीन स्टेप स्लोप डिजाइन’मा आधारित सभागृह हुनेछ, जसको क्षमता ५०० जनाको हुनेछ। यो भवन थिएटरको रूपमा पनि प्रयोग गर्न सकिने गरी डिजाइन गरिएको छ, जसमा साउन्ड एब्जर गर्ने सिस्टम र नाटक प्रदर्शनको लागि उपयुक्त लाइट तथा साउन्ड सिस्टमको व्यवस्था हुनेछ।

यस परियोजना अन्तर्गत दुई साना सेमिनार हलहरू, व्यवस्थित पार्किङ, र आकर्षक फूल बगैंचा पनि निर्माण हुनेछ। ३ तलाको यो सभा हल १७,८०३ वर्ग फिट क्षेत्रफलमा निर्माण हुनेछ र यसको सम्पूर्ण निर्माण कार्य २०८३ असार २० गतेसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ। निर्माण कम्पनीसँग २० करोड ९५ लाख ९५ हजार रुपैयाँको सम्झौता भएको छ।

सभा हलको साथसाथै, इटहरीमा आकासे पुलको निर्माण पनि चाँडै सुरु हुने जानकारी दिइएको छ, जुन परियोजना पनि इटहरीको विकासका लागि महत्वपूणर्ता राख्छ।

Comments

सम्बन्धित खवर