•  ३ आश्विन २०८१, बिहीबार
  •  3:25:17 AM

गोकुल बास्कोटाको दावी : रविको सांसद पद फेरि जान्छ, चितवन–२ मा तेस्रो पटक चुनाव हुन्छ

- आश्विन २, २०८१ मा प्रकाशित



काठमाडौं । सहकारी रकम दुरुपयोगका विषयमा संसदीय छानविन समितिले अध्ययन प्रतिवेदन संसदलाई बुझाएपछि अब यसमाथिको कारवाही प्रक्रिया कसरी अगाडि बढ्छ भन्ने विषयमा चर्चा र बहस चलिरहेको छ । संसदीय छानबिन समितिले गोरखा मिडिया नेटवर्कमा सहकारीको रकम गैरकानुनी रूपमा परिचालन भएको र त्यसमा तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने पनि जिम्मेवार रहेको ठहर गर्दै प्रतिवेदन तयार पारेपछि अहिले यसका पक्ष–विपक्षमा सामाजिक सञ्जालहरुमा बहस चर्किएको छ ।

सत्ता पक्षले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति लामिछाने दोषी किटान भएको जिकिर गरिरहेका छन् भने लामिछाने पक्ष पनि आफू निर्दाेष प्रमाणित भएको दाबी गरिरहेको छ । सत्ता पक्षधरले रविले ‘क्लिन चिट’ पाएको नभई कारवाहीका लागि सिफारिस भएको बताइरहेका छन् भने लामिछाने पक्षधरले भने सहकारीको रकम अपचलनमा उनको कुनै संलग्नता नदेखिएको दावी गरिरहेका छन् । दुई पक्षको फरक–फरक दावीका कारण कतिपय सर्वसाधारणलाई भने यस विषयले रनभुल्लमा पारेको छ ।

सहकारी प्रतिवेदनमाथिको बहसले सामाजिक सञ्जाल तताइरहेका बेला सत्तारुढ नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाले नाम नलिईकन पूर्व गृहमन्त्री समेत रहेका प्रतिनिधि सभा सदस्य लामिछानेविरुद्ध व्यंग्य गर्दै चितवन क्षेत्र नम्बर २ मा फेरि उपचुनाव हुने दाबी गरेका छन् । पूर्वमन्त्री समेत रहेका बाँस्कोटाले बुधबार बिहान सामाजिक सञ्जालमार्फत ‘संसदीय समितिले दोषी ठहर’ गरेसँगै उनको सांसद पद फेरि पनि खारेज हुने र चितवन २ मा तेस्रो पटक उपनिर्वाचन हुने लगभग निश्चित भएको दाबी गरेका छन् ।

‘चितवनका नेता पनि जनता पनि कति जाँगरिला भने चुनाव त पाँच वर्षमा तीन वटा गर्न पनि तयारी हालतमा बस्न सक्ने’, बाँस्कोटाले लेखेका छन्, ‘कानुनविद्का वकिली तर्क र थापा प्रतिवेदनमा राजनीतिक सौदाबाजी नभए जान्नेलाई छान्ने त्यो चान्स आउने हिउँदमै पूरा हुने कुरा पक्का जस्तै छ भनिन्छ । ७८औं जिल्ला त्यसै भन्या रैनछ चितवनलाई !’ यसअघि पनि नागरिकता प्रकरणका कारण सांसद पद गएपछि लामिछाने पुनः उपचुनावमा प्रतिस्पर्धा गरी सांसद चुनिनु परेको थियो ।

Comments

सम्बन्धित खवर