•  ३ आश्विन २०८१, बिहीबार
  •  10:12:00 PM

२०८२ मा भेट्ने वाचा सहित सकीयाे कटहरीमा कृषी एक्सपाे  : एक लाखले गरे अवलाेकन 

- भाद्र ३१, २०८१ मा प्रकाशित



विराटनगर । विराटनगरमा भदौ गतेदेखि सञ्चालन भएको कृषि एक्स्पोमा एक लाखभन्दा धेरैले अवलोकन गरेका छन् । कोशी र मधेश प्रदेका कृषक, कृषि कलेज, विभिन्न स्कूल तथा कलेजका विद्यार्थी लगायत अन्य सर्वसाधारणले एक्स्पो अवलोकन गरेको आयोजकले जनाएको छ ।कृषि ज्ञान केन्द्र, स्थानीय तह तथा उद्योग वाणिज्य संघहरुबाट सिफारिश भई आएका ८०० कृषक, विद्यार्थीलगायतलाई दैनिक निःशुल्क खाना तथा ३०० जनालाई निःशुल्क आवाससमेत व्यवस्था गराएर एक्स्पोमा सहभागी गराएको आयोजकले जनाएको छ ।

एक्स्पोमा कृषि बजार प्रणाली र मूल्य श्रृंखला, कस्टम हायरिङको परिचय तथा प्रयोग र पशुपंक्षी कृषि विज्ञानका विषयमा प्रस्तुति गरिएको थियो ।एक्स्पोमा आर्थिक मामिला तथा योजनामन्त्री राम रानामगरसहित विज्ञहरुबीच प्यानल छलफल भएको थियो । छलफलमा भारतीय विज्ञ डा.कञ्चन भौमिक, कृसेन्दु सिन्हा र डा.सुभाषिश बलले कृषिमा एजोला तथा ब्लुग्रीन एल्गीको उत्पादन र प्रयोग एंव जैविक मल तथा विषादी बनाउने र यसको प्रयोगबारे जानकारी गराएका थिए ।

एक्स्पोमा पूर्वाञ्चल विश्वविद्यालय र काठमाण्डौं विश्वविद्यालयले कृषि सम्वन्धी विषयमा काउन्सिलिङ पनि गरेका थिए । एक्स्पोमा नेपाल र भारतका गरी १३० वटा स्टल रहेका थिए । आयोजक नेपाल उद्योग वाणिज्य महासंघले आगामी वर्षमा थप परिमार्जनसहित एक्स्पो आयोजना गर्ने जनाएको छ ।कृषि एक्स्पो आइतबार अपरान्ह समापन भएको छ । समापन कार्यक्रमलाई सम्बोधन गर्दै उद्योग, कृषि तथा सहकारी मन्त्री प्रतापसिं हाङ्गामले किसानहरुलाई आधुनिक कृषियन्त्र, उपकरण र औजारहरुको बारेमा जानकारी दिन, उन्नत मल बिउ तथा खेतीको आधुनिक तरिका बारेमा जानकारीका हिसाबले पनि एक्स्पो महत्वपूर्ण रहेको बताए । प्रदेश सरकारले आगामी दिनमा यस प्रकारको एक्स्पोलाई प्राथमिकतामा राख्ने र किसानको उत्पादनलाई बजारीकरण गर्न सहयोग गर्ने मन्त्री हाङ्गामले बताए ।

उद्योग, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा.लेखराज दाहालले मन्त्रालयको नाम अनुसारकै काम कृषि एक्स्पो मार्फत भएको भन्दै खुसी व्यक्त गरे । उनले कृषिलाई औद्योगीकरण नगरेसम्म कृषिको विकास नहुने भन्दै प्रदेश सरकारले कृषिको औद्योगीकरणका लागि सहयोग गर्ने बताए । मन्त्रालय र मन्त्रालयमा रहेको सहज परियोजनाले निरन्तर यसमा काम गरिरहेको र यो एक्स्पोमा पनि सहज मार्फत मन्त्रालयको निरन्तर सहभागिता रहेको बताए ।एक्स्पो आयोजक नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिका अध्यक्ष राजेन्द्र राउतले कृषि एक्स्पो उद्देश्यमा सफल भएको बताए ।

किसान, व्यवसायी र उद्योगीहरुलाई एकै छातामुनि ल्याएर प्रत्यक्ष अन्तरक्रिया गराउँदा कृषि उत्पादन प्रवद्र्धन गर्न र कृषिमा लगानी गर्दा प्रतिफल लिन सम्भव छ भन्ने स्पष्ट गर्न एक्स्पो सफल भएको बताए । पछिल्लो समय कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान निरन्तर घट्दै गएकोले यस क्षेत्रमा लगानी गरी योगदान बढाउने नीति सरकारले लिनुपर्ने उनले बताए । अहिले पनि कृषि आकर्षक लगानीको क्षेत्र बन्न नसकेको भन्दै सरकारले अझ धेरै पहल बढाउन जरुरी रहेको उनले बताए । पहिलोपटक कृषि एक्स्पो आयोजना गर्दा अनुभवको अभावका कारण कतिपय कमी भएको र अनुभवका आधारमा आगामी दिनमा अझ राम्रो गर्दै जाने अध्यक्ष राउतले बताए । ‘हामीसँग कृषिको मात्र एक्स्पो गर्न धेरै अनुभव थिएन, निकै मिहेनतले र सहयोगी हातहरु र हामीलाई उत्साहित गर्ने सबैको साथबाट अत्यन्त राम्रोसँग कृषि एक्स्पो सफल भएको छ ।’ अध्यक्ष राउतले कृषि एक्स्पो २०८२ का साथमा फेरि भेट हुने बाचा पनि गरेका छन् ।

कार्यक्रममा बोल्दै उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले कृषि एक्स्पो भव्य र सभ्य ढंगबाट सफल भएको बताए । ‘यो एक्स्पो निकै ठूलो आँटले आयोजना गर्नुभयो, सजिलो थिएन तर पनि यति धेरै राम्रोसँग र प्रभावकारी ढंगबाट एफएनसिसिआई कोशी प्रदेशले सम्पन्न गरेकोमा बधाइ भन्न चाहन्छु ।’

भारतबाट उत्पादन प्रदर्शनका लागि आएका कृषि उत्पादक तथा उद्योगी सन्तोष नायकले कृषिमा प्रयोग हुने स–साना औजारहरुको प्रदर्शन गर्ने कार्यक्रमबाट आफू प्रभावित भएको बताए । उनले च्याउ उत्पादन गर्दा बिहारको पूर्णियामा बजार नपाएपछि नेपालमा निर्यात गरेर आफ्नो व्यापार चलाएको स्मरण गर्दै यस प्रकारको एक्स्पोले किसानको उत्पादनले बजार पाउन तथा नयाँ सिप र प्रविधि अवलम्बन गर्न सहयोग पुग्ने विस्वास व्यक्त गरे । उनले कृषि उत्पादन निर्यात गर्न तथा औजार उपकरण आयात निर्यातमा कागजी प्रक्रियालाई छोट्याएर सहज बनाउन सुझाव दिए ।

नेपाली कृषि व्यवसायी तथा पूर्वसांसद चुमनारायण तवदारले सरकारले सिंचाइ, कृषिमा प्रयोग हुने बिजुली तथा अन्य सुविधामा थप सहजीकरण गर्नुपर्ने बताए । कृषिमा प्रयोग हुने बिजुली प्रतियुनिट ३ रुपैयाँ पर्ने भनिएपनि साँझ ५ बजेपछि ५ रुपैयाँ लाग्ने र बिल तिर्न जाँदा थप ३ रुपैयाँ लिने गरेको गुनासो गरे । कार्यक्रममा कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीलगायतले एक्स्पो र एक्स्पोका कारण कृषि थोक बजारलाई आगामी दिनमा फरक तरिकाले प्रभावकारी रुपमा सञ्चालन गर्न सकिन्छ भन्ने आधार बनाइदिएको बताए ।

Comments

सम्बन्धित खवर