कोशीमा कांग्रेसका तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ, कोइराला पक्ष बाहिरै
- भाद्र २८, २०८१ मा प्रकाशित
इटहरी । कोशी प्रदेश सरकारमा नेपाली कांग्रेसका नव नियुक्त चार जना मन्त्रीले शपथ लिएका छन् । कांग्रेस कोसीका महामन्त्री समेत रहेका प्रदेश सभा सदस्य भूपेन्द्र राईको नेतृत्वमा कांग्रेस कोशी सरकारमा सहभागी भएको छ । कांग्रेसबाट तीन मन्त्री र एक राज्यमन्त्रीले शुक्रबार बिहान शपथ ग्रहण गरेका हुन् । उनीहरूलाई शुक्रबार प्रदेश प्रमुख पर्शुराम खापुङले शपथ खुवाए । राई भौतिक पूर्वधार मन्त्री बनेका छन् भने सदानन्द मण्डल पर्यटन, वन तथा वातावरणमन्त्री र खगेनसिङ हाङगाम उद्योग, कृषि तथा सहकारीमन्त्री नियुक्त भएका छन् ।
भौतिक पूर्वाधार राज्यमन्त्रीमा झापाका भूमिप्रसाद राजवंशीले शपथ लिएका छन् । एउटा मन्त्रालय भने कांग्रेसले अझै खाली राखेको छ । गत साउन १२ मै कोसी सरकारमा सहभागी हुने निर्णय गरेको कांग्रेस डेढ महिनापछि शुक्रबार मन्त्रीसहित सरकारमा गएको हो । योसँगै कोसीमा २ राज्यमन्त्रीसहित एमाले–कांग्रेस गठबन्धनको १० सदस्यीय मन्त्रिपरिषद् बनेको छ ।
तर पार्टीभित्र भागबण्डा नमिल्दा नेता शेखर कोइराला पक्षका सांसदहरू मन्त्री बन्न पाएका छैनन् । कोइराला पक्षले दुई वटा मन्त्री आफूपक्षका सांसद हुनुपर्ने अडान राखेकोमा सभापति शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौला पक्ष सो भाग दिन तयार देखिएन ।
भागबण्डामा कुरो नमिल्दा कोइराला पक्षबिनै कांग्रेस सरकारमा गएको हो । कोशीमा चार वटा मन्त्रालय कांग्रेसले पाएको छ । त्यसमा कोइराला पक्षले दुई मन्त्रालयको दाबी गरेका थिए । ‘हाम्रो समूहलाई दुई वटा मन्त्रालय चाहिन्छ भन्ने अडान छ’, पूर्वमुख्यमन्त्री समेत रहेका कोइराला पक्षका सांसद केदार कार्कीले भने, ‘हामीसँग कुनै छलफल भएको छैन, नाम माग्ना साथ दिन्छौं ।’ सभापति देउवा पक्षले दुई जना, सिटौला पक्षले एक मन्त्री र एक राज्यमन्त्री तथा शेखर पक्षले एक मन्त्री र एक राज्यमन्त्री लिनुपर्ने निर्णय पार्टी संस्थापनले गरेको छ ।
सोहीअनुसार देउवा र सिटौला समूहका मन्त्रीहरूले शुक्रबार विराटनगरमा शपथ लिएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले मन्त्रीहरूलाई र मुख्यमन्त्री हिक्मत कार्कीले राज्यमन्त्रीहरूलाई शपथ गराएका हुन् । सोही मन्त्रालयमा झापाका सांसद भूमिप्रसाद राजवंशी राज्यमन्त्री नियुक्त भएका छन् । उनी पनि सिटौला समूहका सांसद हुन् । यसैगरी देउवा पक्षबाट सांसदहरू खगेनसिंह हाङ्गामले उद्योग कृषि तथा सहकारी मन्त्री र सदानन्द मण्डलले पर्यटन, वन, वातावरण मन्त्रीको जिम्मेवारी पाएका छन् । हाङ्गाम ताप्लेजुङका सांसद हुन् भने मण्डल सुनसरीका हुन् ।
सम्बन्धित खवर
-
ताजा आश्विन ३, २०८१संविधान दिवसको भाषणमा पनि बालेनविरुद्ध ओली कटाक्ष: ‘…आगो लगाउँछु भन्नेहरूबाट बचाउनुहोला’
-
ताजा आश्विन ३, २०८१वरिष्ठ साहित्यकार गिरिराज शर्माको अन्त्येष्टि
-
ताजा आश्विन ३, २०८१नौं वर्षपछि खुलेको धरहरा चढ्न सर्वसाधारणको भिड
-
ताजा आश्विन ३, २०८१राउटे समुदायका एक युवकको मृत्यु, जनसंख्या १३४ मा झर्यो
-
ताजा आश्विन ३, २०८१सुनको मूल्यमा लगातार गिरावट, आज थप घट्यो , चाँदी पनि सस्तियो
Comments